नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असार ।

नेकपा एमाले एकता कार्यदलको बैठक सुरु भएको छ। अर्थ मन्त्रालय सिंहदरबारमा बैठक केहीबेर अघि सुरु भएको छ। कार्यदलका सदस्यहरु केही समय ढिला गरि बैठकस्थल पुगेका हुन्।
पार्टीको आन्तरिक विवाद समाधानबारे अन्तिम सहमति गर्न आज बिहान ८ बजेका लागि तय गरिएको बैठक नेपाल पक्षका कार्यदल सदस्यहरु आइ नपुगेका कारण समयमा सुरु हुन सकेको थिएन।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका सदस्यहरु भने तोकिएको समयमा नै बैठकस्थल आइपुगेका थिए। नेपाल पक्षका सदस्यहरुले बैठकस्थल आउनुअघि वरिष्ठ नेता नेपालको कोटेश्वरस्थित नेपाल निवासमा आन्तरिक छलफल गरेका थिए।
यस्तै एमालेको स्थायी कमिटी बैठक पनि आजै बस्दै छ। कार्यदलको बैठक सकिए पछि स्थायी कमिटीको बैठक बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनले आजको स्थायी कमिटी बैठकमा एमालेको माधव नेपाल समूह पनि सहभागी हुने जानकारी दिए। बैठक कहाँ बस्ने भन्ने टुंगो लागि नसकेको उनले जानकारी दिए।
