नेपालले बचन दिएपछि विश्वासको मत पाउनेमा ढुक्क देउवा

कांग्रेस नेतृत्वको सरकार गठन हुनुअघि नै अल्पमतमा परिसकेको चर्चा भइरहेका बेला एमाले वरिष्ठ नेता माधवकुमार नेपालले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने बचन दिएका छन्। बुधबार आफ्नै निवास कोटेश्वरमा भेट्न आएका प्रधानमन्त्री देउवालाई नेपालले प्रतिनिधिसभा पूर्णकाल चलाउनुपर्ने आफूहरूको एजेण्डा पुरा भइनसकेकोले संसदको स्थायित्वका लागि पनि विश्वासको मत दिने नेपालले बताएका हुन्।

सोमबार प्रतिनिधिसभा ब्युँतिएलगत्तै विपक्षी गठबन्धन छोडेको घोषणा गरेका नेपाल समूहका २३ सांसदले विश्वासको मत नदिए सरकार कामचलाउ हुने आकलन देउवाको छ। त्यसैले प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै निवासमै पुगेर उनले नेपालसँग नै पहिलो भेट गरेका हुन्। भेटमा प्रधानमन्त्री देउवाले सरकारमै सहभागी हुन नेपालसँग आग्रह गरेका थिए। नेपालले भने अहिले एमालेको आन्तरिक राजनीति पनि मिलाउनुपर्ने भएकाले आफ्नो समूहबाट सरकारमा सहभागी भने नहुने जवाफ दिएको सांसद विरोध खतिवडाले बताए।



‘दुई–दुईपटक विघटन भएर पुनर्स्थापित भएको संसद पुरै कार्यकाल चलाउनु हाम्रो कर्तब्य हो,’ नेता नेपालको भनाइ उधृत गर्दै खतिवडाले भने, ‘सकेसम्म सिंगो एमालेले नै विश्वासको मत दिने वातावरण तयार पार्छु नत्र रिट निवेदक २३ जनाको मत सरकारले पाउँछ, तपाईं ढुक्क हुनुस्।’

भेटमा देउवा र नेपालबीच सरकारको आगामी प्राथमिकताका बारेमा पनि कुराकानी भएको थियो। सो क्रममा कस्ता आयोजनालाई कसरी अगाडि बढाउने र ती आयोजना कसरी पारदर्शी हुन्छन भन्नेबारेमा विस्तृत योजना बनाउन नेपालले देउवालाई सुझाव दिएका थिए। उनले सरकार पारदर्शी हुनेबेलासम्ममात्रै आफ्नो समर्थन रहने बताए।

सर्वोच्चले नेपाल समूहका २३ सांसद सहित १४६ सांसदले दिएको रिटअनुसार नै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै उनी मंगलबार प्रधानमन्त्री भएका हुन्। तर एमालेको एकता प्रयास र गठबन्धनबाट छुट्टिने नेपाललको उद्घोषसँगै देउवा सरकार पुरै कार्यकाल चल्छ या प्रतिनिधि सभा फेरि विघटन हुन्छ भन्ने शंसय पैदा भएको थियो।

नेता नेपालले प्रतिनिधि सभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउने कोर्ष पुरा भइनसकेकाले विश्वासको मत दिने बचन दिएपछि देउवा सरकार अब पुरै कार्यकाल चल्ने लगभग निश्चित भएको हो।

 

सम्बन्धित समाचार