नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ असार ।

प्रधानमन्त्री शेरबहादुर देउवा भोलि शुक्रवार सरकारी निवास बालुवाटार सर्ने भएका छन् । गएको मंगलवार प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिए पनि उनी भोलि मात्रै सरकारी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बुधवार बालुवाटार छाडेसँगै देउवा भोलि बूढानीलकण्ठबाट बालुवाटार सर्न लागेका हुन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले गएको सोमबार प्रतिनिधि सभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । प्रधानमन्त्री देउवा आज पनि विभिन्न छलफल र भेटघाटमा व्यस्त छन् ।
एमाले नेता माधवकुमार नेपाल पक्षको सहयोग नपाए देउवा नेतृत्वको सरकारले ३० दिनभित्र विश्वासको मत नपाउने जोखिम छ । हिजो उनले नेता नेपाललाई आफूलाई विश्वासको मत दिन र सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
