नवकान्तिपुर संवाददाता
काठमाडौं, १ साउन ।

लुम्बिनी प्रदेश सरकार अध्यादेशबाट बजेट ल्याउने तयारीमा लागेको छ । सदनबाट बजेट पास गर्न नसकेपछि अध्यादेशबाट लागेको छ । सरकारको सिफारिशमा प्रदेश प्रमुखले बिहिबार राती १२ बजेदेखि चालू अधिवेशन अन्त्य गरेका छन् ।
बजेटमाथिको छलफल सकिएर पास गर्ने समयमा विपक्षी गठबन्धनले बजेट असफल बनाउने तयारी गरेपछि सत्तारुढ दल नेकपा एमालेले बैठक बहिस्कार गरेको थियो । सदनमा बजेट पास गर्न बहुमत नपुगेपछि एमालेले थप छलफलका लागि समय माग्दै बैठक बहिस्कार गरेको थियो । तर उसले छलफलको कुनै प्रयास गरेन ।
बजेटमाथि छलफल गरेर सहमति जुटाउन समय माग गरेर सत्तारुढ दल नेकपा एमालेका सांसदहरु प्रदेश सभा बैठकबाट बाहिरिएका थिए । छलफलका लागि सभामुखले आधा घण्टाको समय दिएपनि सत्तारुढ दल र विपक्षी गठबन्धनबीच सहमति जुटेन ।
सत्तारुढ दल र विपक्षी गठबन्धनबीच छलफल नै नभएपछि प्रदेश सभा बैठक सूचना टाँसेर आज शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियो । लामो समयदेखि विपक्षी गठबन्धनले सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै आएका थिए । अहिले सदनमा मुख्यमन्त्री अल्पमतमा परेका छन् ।
