नरेन्द्र मोदी : चिया पसलेदेखि प्रधानमन्त्रीसम्मको यात्रा

विषय–प्रवेश :
‘आर्थिक रूपले उच्च कुलमा जन्मदै कोही व्यक्ति महान् बन्न सक्तैन, व्यक्ति महान् उसको कर्मले हुन्छ’ भन्ने एउटा उदाहरण हुन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । एउटा आर्थिक विपन्न परिवारमा जन्मेका, जीविकोपार्जनका लागि रेलका डिब्बाहरूमा यात्रुहरूलाई चिया बेच्दै हिड्ने ठिटो कुनै दिन देशकै प्रधानमन्त्री होला भनेर सायदै कसैले अनुमान लगाएका हुन सक्छन्; तर भयो त्यस्तै । गुजरातको एउटा गाउँमा जन्मेर दुई पैसाका लागि कुनै दिन सडक–सडक भौंतारिने केटो जो कुनै बेला घरबार छोडेर साधु बन्न चाहन्थ्यो, चार चार पटक गुजरात राज्यको मुख्यमन्त्री हुँदै गणतन्त्र भारतको शक्तिशाली प्रधानमन्त्रीसमेत बन्न सफल भयो । व्यक्ति साधारण भएर केही फरक पर्दैन तर उभित्रको प्रतिभाचाहिँ असाधारण हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्ने मोदीको जीवन–यात्रा जति रोचक छ, त्यति नै प्रेरणादायी पनि छ ।

जन्म, बाल्यकाल तथा पारिवारिक पृष्ठभूमि :
नरेन्द्र मोदीको पूरा नाम नरेन्द्र दामोदरदास मोदी हो । यिनको जन्म भारतको गुजरात राज्यको वडनगर भन्ने सानो शहरमा १७ सेप्टेम्बर १९५० मा भएको हो । उनी बाबु दामोदरदास मूलचन्ददास मोदी तथा आमा हीराबेन दामोदरदास मोदीका छ सन्तानहरूमध्ये तेस्रो सन्तानका रूपमा जन्मिएका थिए । उनको बाल्यकाल सामान्य बालकहरूभन्दा फरक खालको थियो भनिन्छ । मोदी १७ वर्षको हुँदा उनको बिहेको कुरा चल्यो तर उनी विवाह गर्न चाहँदैन थिए । उनले घर छोडेर हिँडे । तर पछि आमाको कारण १९ वर्षको उमेरमा उनको बिहे भयो । उनकी पत्नीको नाम जसोदाबेन मोदी हो । बिहे गरे पनि उनलाई वैवाहिक जीवनले खास्सै आकर्षित गर्न सकेन । मोदी परिवारको आर्थिक पृष्ठभूमि एकदम सामान्यभन्दा पनि सामान्य खालको थियो । पारिवारिक जिम्मेवारी र भरणपोषणको अभिभारा पूरा गर्न बाबु रेल्वे स्टेशनमा चिया पसलको व्यवसाय गर्थे । मोदीले शुरुमा बाबुलाई सहयोग गरे भने पछि आफैंले भाइसँग मिलेर चिया स्टल सञ्चालन गरेका थिए । उनकी आमा छिमेकी घरहरूमा गई भाँडावर्तन माझ्ने काम गर्थिन् ।



नरेन्द्र मोदी पढाइमा खास्सै जेहेन्दार त थिएनन् तर मेहनती र प्रतिभाशाली थिए । उनको प्रारम्भिक शिक्षा आफ्नो गाउँ बडनगरमा नै आरम्भ भएको थियो । उनलाई पढाउने शिक्षकका अनुसार मोदी सानैदेखि कुशल वक्ता र नेतृत्व गर्ने क्षमता भएका व्यक्ति थिए । उनी नाटक तथा भाषणकलामा भाग लिएर आफ्नो क्षमता प्रदर्शन गर्न निपूर्ण थिए । यिनी पढ्नमा यति सौखिन थिए कि पुस्तकालयमा पुगेर उनी घण्टौंघण्टासम्म बिताइदिन्थे । कसैसँग भेट गर्नुपर्यो भने त्यस व्यक्तिलाई उनी पुस्तकालयमा नै बोलाउने गर्थे । आर्थिक परिस्थिति प्रतिकूल भएर पढाइलाई निरन्तरता दिन पटक पटक बाधा उत्पन्न भए पनि सङ्घर्ष गरेरै यिनले सन् १९८३ मा गुजरात विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्न सफल भए । खाने मुखलाई जुँगाले छेक्तैन भन्ने भनाइलाई मोदीले प्रमाणित गरिदिए ।

राष्ट्र प्रेम र स्वामी विवेकानन्दको प्रभाव :
मोदीमा सानैदेखि देशभक्ति भावना विकसित भएको थियो भनिन्छ । सन् १९६२ मा भारत र चीनबीच युद्ध हुँदा र सन् १९६५ मा भारत र पाकिस्तानबीच युद्ध हुँदा मोदीले रेलबाट यात्रा गरिरहेका हजारौं भारतीय सेनाहरूलाई स्वेच्छाले रेल्वे स्टेशनमा खाना र चिया खाने व्यवस्था मिलाएका थिए । यसलाई उनको देशप्रतिको प्रेमभावको नमुना मान्न सकिन्छ ।

मोदीमा सानैदेखि स्वामी विवेकानन्दको गहिरो प्रभाव परेको थियो । उनले विवेकानन्दका कृतिको अध्ययन गरे र मनन् गर्ने प्रयास पनि गरिरहे । उनैका विचारबाट प्रभावित भई मोदी जीवनका रहस्यहरूको खोजीतिर आकर्षित भए र सन् १९६७ मा १७ वर्षको उमेरमा घर छोडेर बेपत्ता भए । उनी हिमालयमा ऋषिकेश, बङ्गालमा रामकृृष्ण आश्रम र पूर्वोत्तर भारतको भ्रमण गरेर २ वर्षपछि घर फर्किए । यस भ्रमणका क्रममा पनि उनले स्वामी विवेकानन्दको ज्ञान र दर्शनलाई राम्ररी बुझ्ने मौका पाएको मोदी स्वयम्ले स्वीकार गरेका छन् ।

राजनीतिमा प्रवेश :
मोदी ८-९ वर्षको उमेरमा राष्ट्रिय स्वयम्सेवक संघ (आरएसएस) को सम्पर्कमा पुगे, सन् १९७० मा आरएसएसको प्रचारक बने र त्यसको एक वर्षपछि आरएसएसको सदस्य बने । आरएसएसमा रहेर उनले उल्लेखनीय काम गरे । भनिन्छ– मोदीमा आरएसएसको गहिरो प्रभाव परेको थियो । कामप्रतिको इमान्दारी र अनुशासन मोदीले आरएसएसबाटै सिकेका थिए । उनको काम र प्रतिभालाई देखेर नै भारतीय जनता पार्टी (भाजपा) ले उनलाई पार्टीमा स्थान दिएको थियो । भाजपामा रहेर पनि उनले उल्लेखनीय काम गरेका थिए । मोदीको अगुवाइमा सन् १९९० मा लालकृष्ण आडवाणीको सोमनाथदेखि अयोध्यासम्मको राजनीतिक रथ यात्रा भव्य रूपमा सम्पन्न भयो । यसैगरी मुरलीमनोहर जाशीको कन्याकुमारीदेखि लिएर काश्मीरसम्मको यात्राको जिम्मा पनि मोदीलाई दिइयो । यी राजनीतिक उद्देश्यबाट प्रेरित यात्रा अभियानको सफलताले मोदीलाई चर्चित मात्र बनाएन, भाजपाभित्र विशेष स्थान बनाउन मद्दत गर्यो । भाजपाको संगठन विस्तार र व्यवस्थापनका लागि मोदीलाई गुजरातबाट दिल्ली बोलाइयो र केन्द्रीय मन्त्री बनाइयो ।

गुजरातको मुुख्यमन्त्री :
सन् २००१ मा गुजरातमा विनाशकारी भूकम्प गयो । भूकम्पले गुजरातका जनताको जीवन तहसनहस बनायो । केशुभाइ पटेलको नेतृत्वमा रहेको तत्कालीन गुजरात सरकारले अपेक्षाअनुसारको काम गर्न सकेन । भूकम्प पीडितलाई राहत वितरणको कार्य व्यवस्थित हुन नसक्ता जनतामा निराशा फैलियो । त्यसताका मुख्यमन्त्री पटेलको स्वास्थ्य पनि ठीक थिएन । त्यसैले पनि उनले जनताको मन जित्ने गरी काम गर्न सकेनन् । परिस्थिति प्रतिकूल भएपछि केशुभाइ पटेलले मुख्यमन्त्रीबाट राजीनामा दिए । त्यसपछि भाजपाले मोदीलाई गुजरातको मुख्यमन्त्री बनाउने निर्णय गर्यो । यसरी ७ अक्टुबर २००१ का दिन मोदी पहिलोपल्ट गुजरातका मुख्यमन्त्री बने । मुख्यमन्त्री बनेपछि उनले राहत वितरणलाई व्यवस्थित मात्र गरेनन्, गुजरातको खस्कँदै गएको आर्थिक अवस्थालाई पनि मजबुत बनाए । उनले गाउँगाउँमा बिजुली पुर्याइदिए । खानेपानीको समस्यालाई दीर्घकालीन समाधानका लागि पहल गरे । त्यति मात्र होइन, मोदीले गुजरातका गाउँगाउँमा इन्टरनेटको पहुँच पुर्याइदिए, पर्यटनलाई प्रोत्साहन गर्ने नीति लिए, सुरक्षा व्यवस्थालाई व्यवस्थित गरे, एशियाकै ठूलो सोलार पार्कको स्थापना गरे, बेरोजगारलाई रोजगारी दिलाए । यसरी मोदीले छोटो समयमा नै आफ्नो कार्यकुशलताले गुजरातलार्ई नमूना राज्य बनाउन सफल भए । गुजरातमा मोदी लोकप्रिय बन्दै गए ।

मुख्यमन्त्रीका रूपमा मोदीलाई चुनौति नआएको भने होइन । सन् २००२ मा गुजरातमा भएको साम्प्रदायिक दङ्गामा मुसलमान समुदायलाई दोष लगाई मुसलमानहरूमाथि प्रहरीद्वारा निर्ममतापूर्वक दमन गरेको आरोप मोदीमाथि लगाइयो । भनिन्छ, त्यस घटनामा करिब १ हजार मानिस मारिएका थिए र त्यसमा अधिकांश मुसलमान समुदायका थिए । सुप्रिम कोर्टले मोदीलाई दोषी मान्ने प्रमाण नभेटेको निर्णय सुनाए पनि राजनीतिक रूपमा भने मोदीलाई निक्कै कठिनाइको सामना गर्नुपरेको थियो तर पार्टीभित्र तथा बाहिर दुबैतिरबाट भएको आक्रमणलाई मोदीले कूटनैतिक रूपमा समाधान गरेर आफूलाई स्थापित गरेका थिए ।

मोदी २००१–२००२, २००२–२००७, २००७–२०१२ र २०२१–२०१४ सम्म गरी चार पटक गुजरातका मुख्यमन्त्री बने । उनका सबै कार्यकाल सफल र उदाहरणीय बने । मोदी राष्ट्रिय राजनीतिमा आफ्नो विशिष्ट प्रभाव देखाउन सफल भए । काम गरेर देखाएरै उनको छवि क्रमशः आकासिँदै गयो ।

प्रधानमन्त्रीमा मोदी :
गुजरातमा मोदीको सफलता, कार्यकुशलता र लोकप्रियता देखेर भाजपाले सन् २०१४ को चुनावमा मोदीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर लोकसभाको चुनाव प्रचार गर्यो । मिडिया र सामाजिक सञ्जालले पनि मोदीको साथ दियो । सबै अवस्था र वातावरण अनुकूल भएकोले भाजपाले लोकसभाको चुनावमा भारी मतले विजयश्री प्राप्त गर्न सफल भयो । यसको श्रेय पनि मोदीलाई नै दिइयो । र, यसरी अन्ततः नरेन्द्र मोदी भारतका १५औं प्रधानमन्त्री बन्न सफल भए । बेलायती साम्राज्यबाट भारत स्वतन्त्र (१५ अगष्ट १९४७) भएपछि जन्मिएका मोदी पहिलो प्रधानमन्त्री बन्ने सौभाग्यशाली व्यक्ति पनि बने । भारतीय जनता पार्टीको तर्फबाट मोदी प्रधानमन्त्री बनिरहँदा पार्टीको अध्यक्ष पदमा अमित शाह आसिन थिए । भाजपामा हाल हिमाचल प्रदेशका जगतप्रकाश नड्डा अध्यक्ष रहेका छन् ।

प्रधानमन्त्री बनेपछि पनि मोदीले जनताको मन जित्ने धेरै कार्य गरे र गरिरहेका पनि छन् । उनले गरेको काम र आकर्षक भाषणशैलीका कारण उनी समकालीन विश्वमा चर्चित नेता बनेका छन् । उनी जहाँ जहाँ पुगेर भाषण गर्छन्, त्यहाँ त्यहाँ उनी चर्चाको विषय बन्दछन् । ठाउँ र उपस्थित जनमानसको मनोविज्ञानअनुसार भाषण गर्न सिपालु भएका कारण मोदीको भाषणले जहिले पनि वाहवाही पाउने गर्छ । लोकप्रियताका आधारमा अमेरिकी पत्रिका टाइम्सले सन् २०१४ का ‘टाइम्स वर्ष व्यक्ति’ को लिष्टमा मोदीलाई पनि समावेश गरेको थियो । अहिले पनि सामाजिक सञ्जालमा सर्वाधिक खोजिने व्यक्तिहरूमा मोदी अगाडि छन् । उनका लाखौंलाख फलोअर्सहरू छन् ।

सङ्क्षेपमा मोदीको राजनीतिक यात्रा :
– सन् १९८८ मा भाजपा गुजरात संघको महासचिवमा नियुक्ति ।
– सन् १९९० मा लालकृष्ण आडवाणी तथा मुरली मनोहर जोशीको देश दौडाहा अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न अहम् भूमिका निर्वाह गरेका कारण पार्टीभित्र मोदीको लोकप्रियता ।
– सन् १९९५ मा मोदीलार्ई भाजपाको राष्ट्रिय संघको सचिवमा नियुक्त ।
– सन् १९९५ र १९९८ मा भएका गुजरातको विधानसभाको चुनाव प्रचारक ।
– विभिन्न राज्यमा पार्टी संगठन सुधार गर्ने जिम्मेदारीमा पनि मोदी ।
– सन् १९९८ मा भाजपाको राष्ट्रिय संघको महासचिवमा पदोन्नति ।
– सन् २००१ मा पहिलो पटक गुजरातको मुख्यमन्त्री ।
– त्यसपछि सन् २००२, २००७ र २०१२ मा गरी चारपटक गुजरातका मुख्यमन्त्री बन्न सफल ।
– सन् २०१४ मा भएको लोकसभाको चुनावमा भारी मतले विजयी भए तथा गणतन्त्र भारतका १५औं प्रधानमन्त्रीका रूपमा नियुक्त ।

मोदीद्वारा लेखिएका पुस्तकहरू :
मोदी भारतका प्रधानमन्त्रीका अतिरिक्त लेखक, विचारक तथा साहित्यिक स्रष्ठा पनि हुन् । उनले आख्यानात्मक तथा गैरआख्यानात्मक पुस्तकहरू पनि प्रकाशित गरेका छन् ।
– ज्योतिपुञ्ज : लेखहरूको सङ्ग्रह
– एडोब अफ लव : आठ कहानीहरूको सङ्ग्रह
– पे्रमतीर्थ : लघु कथाहरूको सङ्ग्रह
– केल्वे ते केलवानी (शिक्षा त्यो हो जसले पोषण दिन्छ) : आफ्ना उत्कृष्ठ वक्तव्यहरूको सङ्ग्रह
– साक्षीभाव : विचारहरूको सङ्ग्रह
– समाज समरसता : लेखहरूको सङ्ग्रह
– कन्विनियन्ट एक्सन : गुजरात रेस्पोन्स टु चैलेन्ज अफ क्लाइमेट चैन्ज : अङ्ग्रेजी भाषामा लेखिएको गुजरातको जलवायु परिवर्तनसम्बन्धी पुस्तक ।

(विकिपेडिया डटओआजी, ज्ञानीकीडा डटकम डटइन, हिन्दीवालापण्डित डटकम, हिन्दीडटवानइण्डिया डटकम, अनोखेफ्याक्ट्स डटकम, यु–ट्युव तथा विभिन्न सामाजिक सञ्जालबाट सामग्री लिई तयारी पारिएको लेख)

 

सम्बन्धित समाचार