नवकान्तिपुर संवाददाता
काठमाडौं, २ साउन ।

नेपाली कांग्रेसमा आसन्न महाधिवेशनलाई लिएर शीर्ष नेताहरुले दौडधुपलाई तीब्र पारेका छन् । यसै क्रममा कोइराला परिवारबाट सर्वसम्मत उम्मेदवार चयन गर्ने प्रयासको थालनी भएको छ । कोइराला परिवारबाट महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य डा शेखर कोइराला र सुजाता कोइरालाले नेतृत्वमा दावी गर्दै आएका छन् ।
कोइराला परिवारका यी तीन जना नै एकजुट नहुने अवस्था आएपछि परिवारबाट एक जना मात्रै नेतृत्वमा उठ्ने गरी सहमतिको प्रयास शुरु भएको हो । शनिबार दिउँसो शशांक निवास महाराजगञ्जमा शेखर, शशाक र सुजाताबीच खानासहितको बैठक शुरु भएको छ । संस्थापनइतर समूहबाट सभापतिका आधा दर्जन बढि आकांक्षी देखिएका छन् । तर कोइराला परिवारभित्रबाटै शेखर र शशांकले सभापतिका लागि बलियो उम्मेदवारका रुपमा प्रस्तुत गर्दै आएका छन् ।
महामन्त्री कोइरालाले आफूहरुबीच सहमतिमा एउटा मात्रै उम्मेदवार बन्ने बताउँदै आएका छन् । शेखरले भने आफू कुनै पनि हालतमा पछि नहट्ने अडान लिँदै आएका छन् । १४ औं महाधिवेशनमा नेतृत्वका लागि दोहोरिन कांग्रेस सभापति शेरबहादुर देउवाले तयारी अगाडि बढाइसकेका छन् ।
संस्थापन समूहबाट उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । तर संस्थापन समूहबाट निधिका पक्षमा नेताहरु खुलेका छैनन् ।
