राजपा र माधव समूह तत्काल सरकारमा सहभागी नहुने, कांग्रेस र माओवादीबाट मन्त्री थप्ने तयारी

प्रतिनिधि सभाबाट विश्वासको मत लिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको गृहकार्य शुरू गरेका छन् ।विश्वासको मत दिएका दललाई समेटेर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको कांग्रेसका एक नेताले जानकारी दिए ।

असार २९ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै देउवाले कांग्रेसका दुई र माओवादी केन्द्रका दुई जनालाई मन्त्री नियुक्त गरेर आफूसहित पाँच सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । गृह मन्त्रालयमा बालकृष्ण खाँण, अर्थमा जनार्दन शर्मा, उर्जा मन्त्रालयमा पम्फा भुसाल र कानून, न्याय तथा संसदीय व्यबस्था मन्त्रालयमा ज्ञानेन्द्र कार्कीलाई शुरू कै दिन शपथ गराइएको थियो । विश्वासको मत लिएपछि विस्तार गर्ने भन्दै शुरुमा सानो आकारको मन्त्रिपरिषद् बनाइएको थियो ।



जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष, माओवादी र पार्टीका केही सदस्य थपेर देउवाले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका हुन् । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका र विश्वासको मत दिएका एमालेको माधव नेपाल पक्ष सरकारमा सहभागी हुन राजी भएमा उनीहरुलाई समेत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको योजना छ ।

आइतबार राति संसदबाट बाहिरिने क्रममा सरकारमा सहभागिताको विषयमा सोधिएको प्रश्नमा नेता नेपालले प्रतिक्रिया दिएनन् । तत्काल नेपाल समूह सरकारमा नजाने बुझिएको छ । सरकारलाई विश्वासको मत दिए पनि जसपाको महन्थ ठाकुर पक्ष भने सरकारमा सहभागी नहुने बताएको छ ।

पाँच दलीय गठबन्धनमा सामेल राष्ट्रिय जनमोर्चाले भने सरकारलाई समर्थन दिएपनि सरकारमा सहभागी नहुने निर्णय गरेको छ । उपेन्द्र यादव पक्षले पनि निर्वाचन आयोगमा रहेको पार्टी विवाद निरुपण भएपछि सरकारमा सहभागी हुने बताएको छ ।

माओवादी, जसपालगायत दललाई सरकारमा सहभागी गराउनु पर्ने भएकोले मन्त्री बन्ने आकांक्षी धेरै भएपनि कांग्रेसले थोरै मात्र मन्त्रालय राखेर गठबन्धनलाई रिझाउने तयारी गरेको छ । आइतबार प्रतिनिधि सभामा देउवाले १६५ सांसदको समर्थनसहित विश्वासको मत जितेका थिए ।

सम्बन्धित समाचार