नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ साउन ।

नेकपा माओवादी केन्द्रको आज स्थायी कमिटीको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य लीलामणि पोख्रेलले जानकारी दिए। बैठकमा पछिल्लो समसामयिक राजनितिक घटनाक्रम, पार्टी संगठनलगायत विषयमा छलफल हुने बताइएको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर सरकार सन्चालनका लागि साझा कार्यक्रम बनाएर जाने विषयमा छलफल गरेका थिए। प्रधानमन्त्री देउवासँग भएको छलफल र छलफलका क्रममा भएका प्रगतिका विषयमा पनि बैठकमा अध्यक्ष प्रचण्डले जानकारी गराउनेछन्।
सरकारको प्रभावकारी सञ्चालन तथा गठबन्धन दलहरूका सरकारमा सहभागिताका विषयमा पनि देउवा र प्रचण्डबीच छलफल भएको थियो। माओवादी केन्द्रले कम्तिमा पनि ६ मन्त्रालय पाउने भएसँगै आजको बैठकले वाँकी चार मन्त्री छान्ने पनि बताइएको छ । २ मन्त्रीले यसअघि नै शपथ लिइसकेका छन् ।
एक उपप्रधानसहित ६ मन्त्री पाउने भएकोले पार्टी नेता नारायणकाजी श्रेष्ठ उपप्रधानसहित एक मन्त्रालय संहाल्ने गरी सरकारमा सहभागी हुने तयारी गरेको बताइन्छ । त्यसैगरी अन्य मन्त्रीहरुमा देव गुरुङ, देवेन्द्र पौडेल, शशी श्रेष्ठको चर्चा छ ।
