नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ साउन ।
एनआईसी एशिया बैंकले आफ्नो स्थापनाको २४ वर्ष पूरा गरेको छ । यस अवसरमा बैंकद्वारा प्रेसित विज्ञप्तिमा भनिएको छ– भविष्यमा अझ उन्नतस्तरको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न र सबैले गर्व गर्न सक्ने स्तरको सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै सबैको पहिलो रोजाइको बैंक बन्न मन, वचन र कर्मले सदा सर्वदा लागि पर्ने संकल्प गर्दछौं ।
यसअवधिसम्ममा आइपुग्दा एनआईसी एशिया बैंक मुलुकभर फैलिएको देशकै सबैभन्दा ठूलो सञ्जालमार्फत ३५६ शाखा, ७० विस्तारित काउण्टर, ८१ शाखा रहित बैंकिङ्ग सेवा तथा ४७१ एटिएममार्फत आफ्ना २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता तथा ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजारभन्दा बढी खाताहरूमार्फत ग्राहकहरू माझ गुणस्तरीय सेवा प्रवाह गर्न सफल भएका विज्ञप्तिमा उल्लेख छ ।
नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा मुलुकको वृहत्तर हित र सर्वाङ्गीण विकास तथा नेपाल सरकारले लिएको वित्तीय समावेशीकरणको लक्ष्य हासिल गर्नको लागि ठोस टेवा पु-याउने उद्देश्यले एनआईसी एशिया बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरूको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरू मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान आदि तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति नरहेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा समेत शाखा सञ्जाल विस्तार गरी वित्तीय पहुँच विस्तारमा समेत गर्न उल्लेख्य योगदान पुर्याएको उल्लेख छ ।