नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ साउन ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले माओवादी र जसपाले समर्थन फिर्ता लिएपनि सरकार नढल्ने बताएका छन् । महोत्तरीको जलेश्वरमा जिल्ला पार्टी कार्यालय (महेश्वर सिंह स्मृति भवन) र सिंहकै शालिक अनावरण गर्दै उनले कांग्रेस नेतृत्वको सरकारले नै चुनाव गराउने बताए । कांग्रेससँग ६१ सिट मात्र रहेपनि प्रधानमन्त्री बनेका पार्टी सभापति शेरबहादुर देउवाले १६५ जनाको समर्थत प्राप्त गरेको कार्यकर्तालाई सुनाए ।
कार्यकर्तालाई उनले भने, ‘कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको छ । विगतमा कांग्रेसले चुनाव हारेकै कारण देशका हरेक क्षेत्रमा भाँडभैलो भएको छ । अब अगामी चुनावमा गाछी छापलाई जिताउने वातावरण बनाउनमा लाग्नुस् ।’
कसैलाई हराउनका लागि नभएर कांग्रेसलाई प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा जिताउनका लागि आफू १४ औं महाधिवेशनबाट पार्टीको सभापति बन्न चाहेको उनको भनाइ थियो ।
