नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ साउन ।

सत्ता सहयात्री दलहरुले सात सदस्यीय कार्यदल गठन गरेका छन्। कार्यदलले सरकार सञ्चालनमा सहजीकरण गर्नेछ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठित कार्यदलमा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरु पनि छन्।
कांग्रेसबाट खड्काका अतिरिक्त डा मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य छन्।
शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएदेखि नै सरकारलाई सहयोग गर्ने संरचना गठनको कुरा उठिरहेको थियो। यसैलाई मूर्तरुप दिइएको हो। कार्यदलले सत्ता सहयात्री दलहरुबीच खटपट उत्पन्न हुन नदिन र सहमतिमा सरकारका नीतिहरु ल्याउन मद्दत गर्ने छ।
कार्यदलको टुंगो लागेसँगै उनीहरु मन्त्री नबन्ने निश्चित भएको छ । कांग्रेसबाट मिनेन्द्र रिजाल र माओवादीबाट देव गुरुङले मन्त्री बन्न दौडधुप गरिरहेका थिए ।
