नवकान्तिपुर संवाददाता
काठमाडौं, १० साउन ।

सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताबीच गठबन्धनलाई थप सशक्त बनाएर सरकार संचालन गर्ने सहमति भएको छ।शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा गठबन्धन थप प्रभावकारी बनाउँदै सरकार सञ्चालनमा सहयोग गर्ने सहमति भएको हो।
बैठकमा सरकारका कामकारबाही प्रभावकारी बनाउने विषयमा सुझाव दिनका गठित कार्यदलले गरेको कामबारे समीक्षा भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए। नेताहरुबीच मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक परिस्थिति, सरकारका भावी योजना, महामारी नियन्त्रणको प्रयासलगायत विषयमा शीर्ष नेताहरूबीच छलफल भएको उनले बताए।
छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए।
छलफलमा सरकारमा सहभागी हुने मन्त्रीका विषयमा समेत कुराकानी भएको बताइएको छ। यसअघि गठबन्धनबाट बाहिरिएको भनेका नेता नेपाल पनि छलफलमा सहभागी हुनुलाई अर्थपूर्ण मानिएको छ।
देउवाले दिन खोजेको सन्देशः
देउवा प्रधानमन्त्री भएपछि बालुवाटारमा पहिलो पटक बसेको सत्तारुढ गठबन्धनको बैठकमा केही फरक दृश्य देखियो । गठबन्धनका नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवा समान हैसियतमा बसेको देखियो । प्रधानमन्त्री बस्ने कुर्सी छोडेर देउवा चार नेता सरह सोफामा बसेको देखिन्छ । बायाँतिरको सोफामा प्रचण्ड, नेपाल र केसी बसेका छन् भने दायाँतिरको सोफामा प्रधानमन्त्री देउवा र यादव आसीन छन् ।
गठबन्धनका शीर्ष नेताहरू सबै समान रहेको सन्देश दिन प्रधानमन्त्री देउवा सोफामा बसेको उनको सचिवालयले जनाएको छ । गठबन्धनमा आबद्ध दलका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सिम्बोलिक’ काम गरेको भन्दै धन्यवाद दिएका थिए ।
पार्टीको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा नराख्ने घोषणा गरेकोप्रति नेताहरूले धन्यवाद दिएका हुन् । शनिबार साँझ बालुवाटारमै बसेको बैठकमा नेताहरुले ‘सानो काम तर ठूलो म्यासेज’ भन्दै प्रधानमन्त्री देउवाको प्रशंसा गरेका थिए ।
