नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ साउन ।

निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको सनाखत सुरु भएको छ । सनाखतका लागि जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् ।
विगतमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका मनिष सुमनलगायतका नेताहरु पनि निर्वाचन आयोग परिसरमा देखिएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाका कार्यकारिणी समिति सदस्यहरुको ‘हेड काउन्ट’ सुरु भएको बताए । उनले जसपाको आधिकारिकता सम्बन्धी निर्णय आजै आउन पनि सक्ने बताए ।
महन्थ ठाकुर पक्षको मानिने मनिष सुमनले निर्वाचन आयोगमा हेड काउन्टका लागि जाँदा उपेन्द्र यादव पक्षको लाइनमा देखिएका छन् । त्यसैगरी ठाकुर पक्षमा रहँदै आएका राजकिशोर यादवले उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गरेका छन् । यसअघि आधिकारिकता विवाद आजै टुंगो लगाउने भएपछि त्यसलाई रोक्न माग गर्दै अध्यक्ष महन्थ ठाकुर पक्षले निवेदन दिएको छ। तर त्यसलाई आयोगले अस्विकार गरेकाे थियाे ।
