आधिकारिकता पाएपछि उपेन्द्र यादवले दिए यस्तो प्रतिक्रिया

जनता समाजवादी पार्टीको केही महिनादेखि जारी विवाद निर्वाचन आयोगले टुंगोमा पुर्‍याएको छ । आयोगले सोमबार अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको पक्षमा रहेका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको हेड काउन्ट गरेर विवादको निरूपण गरेको हो ।

५१ सदस्यीय कार्यकारिणी सदस्यहरूमध्ये ३४ जना उभिएको पक्ष अध्यक्ष उपेन्द्र यादवलाई जसपाको आधिकारिक पक्ष भनेको छ । पार्टीको आधिकारिकता उपेन्द्र यादवलाई दिएमा पार्टी विभाजन हुने र निर्वाचन आयोगलाई त्यो दोष जाने जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बताइसकेका छन् ।



निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि कान्तिपुरसँग कुरा गर्दै अध्यक्ष यादवले केही व्यक्तिहरू बाहिरिने तर जसपा विभाजन नहुने बताएका छन् । उनले पार्टीमा आएर काम गर्न कसैलाई पनि रोक नलगाइने प्रतिक्रिया दिए । जसपाको संसदीय दल एक ठाउँमा रहेको भन्दै यादवले पार्टी विभाजन नहुने दाबी गरे ।

तराई-मधेस लगायत सम्पूर्ण नेपालीको लागि जसपा पार्टी भएको भन्दै यादवले अहिलेको विवाद समाधानले पार्टी अझ बलियो भएर जनतामा जाने बताए । ठाकुर पक्षले यादवको पार्टी अप्ठ्यारोमा पर्दा तत्कालीन राजपाले एकता गर्ने प्रस्ताव स्वीकार गर्दै साथ दिएको तर अहिले आफूहरूलाई पार्टीविहीन बनाएको आरोप लगाएका छन् । उनीहरूले यादवले उक्त गुन बिर्सिएको भनेका छन् । तर, यादवले भने पार्टीका नीति र विधि उल्लंघन गर्दै केपी ओली सरकारका सबै असंवैधानिक कदमलाई साथ दिएपछि अहिलेको अवस्था आएको बताए ।

सम्बन्धित समाचार