नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ साउन ।

जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा भएको पार्टी आधिकारिकता सम्बन्धी सनाखतमा महन्थ ठाकुर पक्षमा लाग्ने १६ जना र तटस्थ बस्ने रेशम चौधरीलाई कारबाही गरेको छ । उनीहरु सबैलाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाइएको हो ।
बैठकले लुम्बिनी प्रदेशसभाका तीन जना सांसदलाई पटक पटक पार्टीको अनुशासन उल्लंघन गरेको आरोपमा निलम्बन समेत गरेको छ । आज निलम्बित भएका सांसदहरुमा सन्तोष पाण्डे, विजय यादव र कल्पना पाण्डे लम्साल हुन् ।
पार्टीको प्रचार प्रसार विभागका प्रमुख डम्बर खतिवडाका अनुसार आज बसेको पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले जसपाबाट निर्वाचित तथा अन्य पार्टीबाट आएका र हाल पार्टीबाट अन्यत्र गएका सबै सांसदको विवरण खोली निर्वाचन आयोगलाई जानकारी गराउने निर्णय समेत गरेको छ ।
त्यसैगरी निर्वाचन आयोगमा उपस्थित भएर मतदान गर्ने ३४ जनालाई पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा यथावतको जिम्मेवारी दिइने समेत निर्णय गरिएको बताइएको छ । जसपाले पार्टीको बैठक आज दिउँसो १ बजे पुनः बस्नेछ । आजको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम फाइनल गर्ने बताइएको छ ।
