नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ साउन ।

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति बैठक आज पनि बस्ने भएको छ। बैठक ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा मंगलबारदेखि जारी छ। निर्वाचन आयोगले पार्टीको आधिकारिता दिएपछि अध्यक्ष यादवले कार्यकारिणी समितिको बैठक बोलाएका हुन्। बैठकमा यादवपक्षका ३४ जना कार्यकारिणी सदस्य सहभागी छन्।
आज दिउँसो १ बजे बस्ने बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने एक नेताले बताए। जसपाबाट अध्यक्ष उपेन्द्र यादव, महेन्द्र राय यादव, रेणु यादव, मोहम्मद इस्तियाक राई मन्त्री बन्ने चर्चा छ ।
यसअघि हिजोको बैठकले संसदीय दलको विधान पारित गरेको छ। दलको विधान पारित भएसँगै अध्यक्ष उपेन्द्र यादव पुनः दलको नेता भएका छन्।
जसपा एकीकृत भए पनि संसदीय दलको विधान तत्कालीन राजपाबाट महन्थ ठाकुर र तत्कालीन समाजवादी पार्टीबाट उपेन्द्र यादव भएका थिए। पार्टी एक भए पनि दलको विभान छुट्टाछुट्टै थियो। निर्वाचन आयोगबाट यादव पक्षले दलको अधिकारिकता पाएपछि उनी नै दलको नेता भएका हुन्। बैठकमा महन्थपक्षका कार्यकारिणी सदस्यहरु भने उपस्थित भएनन्।
