नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ साउन ।

सत्तारुढ गठबन्धनमा सहभागी शीर्ष नेताहरु बालुवाटारमा छलफलमा जुटेका छन् नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल समूह), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुबीच मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल सुरु भएको हो ।
आजको बैठकमा मन्त्रिपरिषद् विस्तारसँगै विभिन्न नियुक्तिलगायत विषयलाई पनि टुंगो लगाउने बुझिएको छ । बैठकमा मन्त्रालय भागबण्डाको विषय टुंग्याएर आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताइन्छ ।
बैठकमा सरकारका अन्य काम–कारबाहीका विषयमा समेत छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी दिएको छ। यसअघि बुधबार बिहान बसेको बैठकमा जतिसक्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने समझदारी बनेको थियो।
आजै मन्त्रीमण्डल विस्तार गर्ने बताइरहँदा माओवादी र जसपालाई भने मन्त्री छान्न धौधौ भैरहेको खबरहरु बाहिरिएका छन् । मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्री छान्न दलहरुलाई सकस परेको हो ।
