नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ साउन ।

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी बैठक आज पनि बस्दैछ । मंगलबारदेखि जारी बैठक पार्टी कार्यालय बालकुमारीमा ११ बजे बस्न लागेको हो । आज बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने बुझिएको छ ।
पार्टीले मन्त्रीको टुंगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिएपनि थप छलफल गर्न बैठक बोलाइएको नेता मोहम्मद इस्तियाक राईले बताए । यादव भट्टराई र राइले ६ मन्त्रीको नाम फाइनल गरिसकेको बताइन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा आज नै जसपाका ६ नेता सहभागी हुने नेता राईले बताए । जसपाबाट अध्यक्ष उपेन्द्र यादव, महेन्द्र राय यादव, रेणु यादव, मोहम्मद इस्तियाक राई मन्त्री बन्ने चर्चा छ । वाँकी २ मन्त्रालयमा महन्थ ठाकुर पक्षबाट आएकालाई दिइने बताइन्छ ।
