नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ साउन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेपछि प्रचण्ड नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन् ।
नेपाल समूहलाई पनि सरकारमा सहभागी हुन सत्तारुढ गठबन्धनले आग्रह गरिरहेको छ । तर, नेता नेपालले भने पार्टी एकताको प्रक्रिया चलिरहेको हुनाले तत्काल सरकारमा सहभागी हुनेबारे ठोस कुरा राखेका छैनन् । त्यस्तै सत्तारुढ गठबन्धनले आज माधव नेपालको सहभागीता विनै मन्त्रालयको बाँडफाँड गर्ने सहमति गरेको छ ।
जसमा काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले पनि ७ मन्त्रालय पाउनुपर्ने खाका तयार गरिएको छ ।
