नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ साउन ।

निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि पहिलोपटक अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा बसेको जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठकले आज ३ निर्णय गरेको छ । बैठकले छानबिन समितिदेखि अनुशासन आयोग गठनसम्मका निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए ।
बैठकले पार्टीभित्र हुने समस्याको छानबिन गर्न नवराज सुवेदीको संयोजकत्वमा गोविन्द चौधरी, प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, दुर्गा सोव रहेको ५ सदस्यीय समिति गठन गरेको, केन्द्रीय कमिटी सदस्य नरसिंह चौधरी प्रमुख रहने गरी केन्द्रीय अनुशासन आयोग गठन गरेको र २०७८ भदौ १ गतेदेखि मंसिर मसान्तसम्म संगठन सुदृढीकरण तथा जनजागरण अभियान सञ्चालन गर्ने कार्ययोजना पारित गरेको छ ।
बैठक ३ दिनदेखि जारी रहेको थियो । बैठकले महन्थ ठाकुर पक्षमा लागेका १६ जनालाई कारवाही गर्नेबारे कुनै पनि निर्णय गरेन । निर्वाचन आयोगले नै पार्टी खोल्ने विकल्प दिएकाले जसपाले निर्णय गर्नु नपर्ने ठहर बैठकले गरेको छ ।
आजको बैठकमा मन्त्रीको बारेमा सामान्य छलफल भएपनि त्यसको जिम्मेबारी शीर्ष नेताहरुलाई नै दिइएको छ । शीर्ष नेताहरुले मन्त्रीको नाम फाइनल गरिएको र मापदण्ड अनुसार नै छनौट गरिएको बताएका थिए । खोल्तमिा भएको मन्त्रीको नाम सार्वजनिक गर्न दवाव नदिन उनीहरुले आग्रह गरेका थिए ।
