न सरकार, न पार्टी एकता: के छ माधव नेपालको रणनीति ?

सत्तामा रहँदासम्म पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली भाँच्चिने तर माधव नेपालसँग नझुक्ने रणनीतिमा देखिए । फलतः सुविधासम्पन्न बहुमतका साथ बालुवाटारमा राज गरिरहेका उनी बालकोट पुगे । यसबीचमा उनले सत्ताबाट मात्र हात धुनु परेन, पार्टीको एउटा गुटको नेतामा सीमित भएर बस्नुपर्यो । विस्तारै जसपाका अध्यक्ष महन्थ ठाकुरको हालत हुने देखिएपछि ओलीमा चेत आएको छ । पछिल्ला दिनमा उनी पार्टीका वरिष्ठ नेता माधव नेपालसँग निरन्तर झुक्दै आएका छन् ।

विहीबार त उनले आफ्ना विश्वास पात्र सुवास नेम्वाङमार्फत वान टु वान वार्ताको लागि नेपाललाई आग्रह नै गरे । त्यतिमात्र होइन, यसबीचमा ओलीले नेपाल समूहलाई माफी दिनेदेखि दोस्रो वरियताको अध्यक्ष बनाउनेसम्मका अभिव्यक्ति दिए । विस्तारै नेता नेपालका एजेण्डा नेपाली राजनीतिमा स्थापित हुन थालेपछि ओलीमा छटपटाहट आउन थालेको छ ।



यता नेता नेपालकै साथले बुढानीलकण्ठदेखि बालुवाटार पुगेका देउवालाई पनि उनी विना सरकार सञ्चालन गर्न निको लागेको छैन । उनले नेपाल पक्षलाई सरकारमा सहभागी गराउन लागेपुगेसम्मका प्रयास गरेका छन् । नेपाल पक्षलाई सरकारमा ल्याउने प्रयत्न गर्दा नै मन्त्रिपरिषद् विस्तारमा विलम्व भइरहेको छ । तर अन्तिम समयसम्म देउवाले नेपाललाई सरकारमा सहभागी गराउने प्रयासलाई जारी राखेका छन् । हिजो पनि देउवाले नेपाललाई फकाउन प्रचण्डलाई नै माधव निवासमा पठाएका थिए ।

देउवा र ओलीका दूतहरु निरन्तर निवासमैं पुगेर फकाउन थालेपछि नेता नेपाल भने पार्टी रोज्ने कि सरकार भन्नेमा दोधार देखिएका छन् । उनले देउवालाई पनि तत्काल सरकारमा सहभागी हुन कानुनी जटिलता रहेको बन्दै मन्त्रिपरिषद् विस्तार गरेर अगाडि बढ्न आग्रह गरेका छन् भने ओलीलाई अहंकारसहितको आग्रहले पार्टी एक हुन नसक्ने चेतावनी दिइरहेका छन् ।

के चाहन्छन् नेपाल ?
अप्ठ्यारो पर्दा हरेक शर्तमा लचक देखिने र आफू माथि परेपछि पेल्न थाल्ने ओलीको प्रवृत्तिबाट आजित नेपालले ओलीसँग सहकार्यको सम्भावना देखेका छैनन् । तर पार्टी फुटाउन पनि कानुनी जटिलता रहेकोले उनी आँटेरै कुनै निर्णय लिन पनि सकेका छैनन् । त्यसमा पनि दोस्रो तहका नेताहरूके दवावले उनी निर्णयविहीन भएको बताइन्छ । पार्टी फुटेमा आफ्नो हैसियत सक्किने बुझेका दोस्रो तहका नेताहरूले नेता नेपाललाई पार्टी एकताको लागि दवाव दिइरहेका छन् । ओली नेतृत्वमा रहँदासम्म पार्टी एक रहने सम्भावना नरहेको भन्दै नेता नेपालले नेतृत्व दोस्रो तहका नेतामा हस्तान्तरणको नयाँ माग अघि सारेका छन् । नेपालको नयाँ प्रस्तावबारे ओलीको कुनै प्रतिक्रिया आएको छैन । तर ओलीले यो प्रस्ताव स्वीकार्ने कुनै सम्भावना नरहेको ओलीनिकट नेताहरू बताउँछन् ।

के चाहन्छन् ओली ?
एमाले अध्यक्ष केपी ओलीलाई यतिवेला देउवा र प्रचण्डसँग कसरी बदला लिने भन्ने इख छ । बालुवाटारबाट बाहिरिँदै गर्दा ओलीले आफ्ना निकट नेता कार्यकर्ताहरूमाझ देउवालाई ३ महिनाभित्र बुढानीलकण्ठ फर्काउने बताएका थिए । त्यसको सम्भावनालाई नियाल्दै ओलीले नेता नेपाललाई फकाइरहेको बुझ्न सकिन्छ । एमालेलाई एक बनाउन सके जसपाको महन्थ ठाकुर समुह र अन्य साना दल तथा कांग्रेसकै असन्तुष्ट पक्षको साथमा देउवालाई प्रधानमन्त्रीबाट हटाउन सकिने झिनो आशा ओलीमा बाँकी देखिन्छ । अहिले ओलीले देखाएको लचकताभित्रको स्वार्थ यतिमा मात्र सीमित छैन, उनमा आफूविरुद्ध तयार भएको बृहत् मोर्चाबन्दी पनि भत्काउन चाहन्छन् । कांग्रेस, माओवादी र जसपासँग माधव पनि मिलेर निर्वाचनमा गएमा एमालेको भविष्य सिद्धिने चिन्ता पनि नेपालमा छ । त्यसैले ओली नेपाललाई फकाएर सरकार र गठबन्धन दुबैलाई धक्का दिन चाहन्छन् ।

के चाहन्छन् देउवा ?
प्रतिनिधिसभामा झण्डै बहुमत नजिक रहेको दलका नेतालाई हटाएर प्रधानमन्त्री बनेका देउवालाई सरकार सञ्चालन गरी आफ्नो कार्यकाल पूरा गर्नु फलामको चिउरा चपाएसरी हुने निश्चित छ । साना दल र असन्तुष्ट पक्षलाई भेला गराएर बहुमत जुटाए पनि अबका हरेका काममा प्रतिपक्षीले भाजो हाल्ने निश्चित छ । साथै कतिबेला कुन समूह असन्तुष्ट हुन्छ र आफूलाई दिएको सार्थन फिर्ता लिएर बालुवाटार छोड्नु पर्ने हो भन्ने भय देउवामा छ । त्यसको लागि पनि देउवा नेपाललाई सरकारमै सहभागि गराउन चाहन्छन् । जसपामा महन्थ ठाकुरको भर नभएकोले देउवाले नेता नेपाललाई पार्टी फुटाउन सहयोग पुग्ने गरी अध्यादेश ल्याएर भए पनि आफ्नो १७ महिने कार्यकाल निश्चित गरेर आफ्नै नेतृत्वमा निर्वाचन गराउन चाहन्छन् । देउवा, ओली र नेपालको आ–आफ्नै स्वार्थको कारण अबको देशको राजनीतिक अवस्था कसरी अगाडि बढ्छ भन्ने अन्यौलता बढेको छ ।।

सम्बन्धित समाचार