नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ साउन ।

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गाउँ तथा विकट बस्तीमा बस्ने जनताको जीवनस्तर उठाउने काममा पहिलो प्राथमिता दिन प्रदेश सरकारलाई आग्रह गरेका छन् । आज प्रदेश प्रमुखका कार्यालयमा पदभार ग्रहण गर्दै उनले विपन्न जनताको जीवनस्तर माथि उठेमा मात्र आर्थिक समृद्धि हाँसिल गर्न सकिन्छ भने।
प्रमुख शेरचनले विद्यामान समावेशी र समानुपातिकसहितको सङ्घीय व्यवस्था अन्तरराष्ट्रिय जगतका लागि उदाहरणीय भएको जनाउँदै संविधानअनुसार यो व्यवस्थाको सही कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे । ‘संविधानलाई आफू अनुकूल व्याख्या गर्ने र संविधानको मर्म र भावनाभन्दा फरक ढङ्गले हिँड्ने स्थिति सिर्जना हुुनु हुँदैन । संविधानले निर्दिष्ट गरेका अधिकारभन्दा बाहिर जाने छुट हामीलाई छैन’, उनले भने ।
गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो ।
