नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ साउन ।

नेकपा एमालेका माधव कुमार नेपाल समूहका नेता तथा सांसद मेटमणि चौधरीले आफ्नो समूहले अर्को पार्टी निर्माण मा जुटेको बताएका छन् । चौधरीले केपी ओली अध्यक्ष रहेको एमालेबाट निर्वाचनमा जाँदा १६५ निर्वाचन क्षेत्रमध्ये कुनै पनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त हुने पोजिसन आउनसक्ने उल्लेख गर्दै आफूहरूले त्यो रिस्क मोल्न नचाहेको पनि स्पष्ट पारे।
आज राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफ्नो समूह आज भोलिभित्रै सरकारमा सहभागी हुने स्पष्ट पारे। उनले ६ वटा मन्त्रालयसहित सरकारमा जाने जानकारी दिए। उनले भने,‘हामीले यति नै संख्यामा मन्त्रालय चाहिन्छ भनेर खोजेको छैन। तर, समानुपातिक प्रतिनिधित्व हुनु नै पर्छ। सम्भवतः मलाई के लाग्छ भने ६ को वरिपरिको मन्त्रालयमा हामी सहभागी हुन्छौं।’
उनले सरकारमा सहभागी हुनेबारे सम्भवतः आजै निर्णय हुने पनि जानकारी दिए। यदि आज नभए आउने हप्तासम्म सरकारमा सहभागी भैसक्ने उनको भनाइ छ। यता जसपाले पनि माधव समूहसँगै सरकारमा सहभागी हुने भनेर मन्त्रीको नाम प्रधानमनत्री शेरबहादुर देउवालाई दिएको छैन ।
