नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ साउन ।

नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक बोलाएको छ। बैठक आज बिहान ११ बजे पेरिसडाँडामा बस्ने गरी बोलाइएको एक नेताले बताए। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने उनको भनाइ छ।
आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नामसमेत टुंगो लगाउने जनाइएको छ। यसिअघि शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो। सो अवसरमा सोमबार मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सहमति भएको जनाइएको छ।
माओवादीले ७ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । जसमध्ये जनादैन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन् । अव चार मन्त्री र एक राज्यमन्त्री माओवादीले पाउने छ ।
जसअनुसार स्थायी समितिमा रहेका नेताहरूमध्येबाट नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङलगायतको नाम पनि चर्चामा छ । मधेसबाट यसपटक मन्त्रीका लागि मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम चर्चामा छ । महिलाबाट जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठमध्येबाट मन्त्री हुने बढी सम्भावना छ ।
