नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ साउन ।
जर्मन क्लब बायर्न म्युनिख प्रि-सिजन तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा पराजित भएको छ । शनिबार भएको खेलमा इटालियन क्लब नापोलीले बायर्नलाई ३-० को फराकिलो अन्तरले पराजित गरेको हो ।
बायर्नको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा उत्कृष्ट खेल खेल्दै नापोलीले तीन गोल गर्यो । दोस्रो हाफको ६९ औं मिनेटमा भिक्टर ओसिम्हेन गोल गर्दै नापोलीलाई अग्रता दिलाए । त्यस्तै भिक्टरले व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ७१ औं मिनेटमा गोल गर्दै नापोलीको अग्रता दोब्बर बनाए ।
यस्तै खेलको ८५ औं मिनेटमा जिनेदिन माचाकले गोल गर्दै नापोलीलाई ३-० को सहज जित दिलाए । त्यसैगरी शनिबार भएको प्रि-सिजन तयारी अन्तर्गतको अन्य मैत्रीपूर्ण खेलमा म्यानचेस्टर सिटीले बर्नस्लीलाई ४-० फराकिलो अन्तरले पराजित गर्यो भने जर्मन क्लब स्टुटगार्ड स्पेनिस क्लब बार्सिलोनासँग ३-० ले पराजित हुन पुग्यो ।