नवकान्तिपुर संवाददाता
काठमाडौं, २० साउन ।
टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकको लागि ब्राजिल र स्पेन भिड्दै छन् । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा ब्राजिलको यू-२३ टोलीले मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४-१ ले पराजित गर्दै फाइनलमामा प्रवेश गरेको हो भने जापान स्पेनको यू-२३ टिमसँग १-० ले स्तब्ध हुन पुग्यो ।
निकै प्रतिस्पर्धात्मक बनेको पहिलो सेमिफाइनल खेलमा खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । जसमा ब्राजिलका डानी अल्भेस,गाब्रियल मार्टीनेली,ब्रुनो गुइमारेस र रेइनिरीले गोल गर्दा मेक्सिकोका कार्लोस रोड्रिगेजले मात्र गोल गरे भने जोहान भास्केज र इडुवार्डो अग्युइरीले पेनाल्टीमा गोल गर्नबाट चुके ।
ब्राजिलले अब स्वर्ण पदकको लागि स्पेनको सामान गर्नेछ । त्यस्तै मंगलबार भएकै दोस्रो सेमिफाइनल खेलमा जापान स्पेनको यू-२३ टोलीसँग अतिरिक्त समयमा १-० ले पराजित हुन पुग्यो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । र, अतिरिक्त समयको ११५ औं मिनेटमा स्पेनका मार्को एसेन्सियो गोल गर्दै स्पेनलाई जित दिलाए ।