नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ साउन ।
स्पेनिस क्लब बार्सिलोना प्रि-सिजन अन्तर्गको मैत्रीपूर्ण खेलमा पराजित भएको छ । बुधबार राति भएको खेलमा अष्ट्रियाको एफसी साल्जवर्गले बार्सिलोनालाई २-१ ले पराजित गरेको हो ।
रेड बुल एरिनामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको ४३ औं मिनेटमा साल्जवर्गका लुका सुसिचले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीले समान १-१ गोल गरे । दोस्रो हाफको ८३ औं मिनेटमा बार्सिलोनाका मार्टिन ब्रेथवेटले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
तर, खेलको ९० औं मिनेटमा ब्रेनडेन आरोनसनले गोल गर्दै एफसी साल्जवर्गलाई २-१ को जित दिलाए । त्यस्तै प्रि-सिजन अन्तर्गत नै बुधबार भएको अन्य मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब लेष्टर सिटीले स्पेनिस क्लब भिल्ला रियललाई ३-२ ले पराजित गरेको छ भने इंग्लिस क्लबद्वय चेल्सी र टोटेनहमले २-२ गोलको बराबरी खेलेका छन् ।