नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ साउन ।

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले छलफलका नाममा पार्टीका गतिविधि नरोकिने प्रष्ट पारेका छन्। माधव नेपाल समूहले सदस्यता नवीकरण र विधान अधिवेशन रोक्न माग गरेकोप्रति ज्ञवालीले यस्तो बताएका हुन्।
‘पार्टीका नियमित कामहरु अगाडि बढ्छन्, छलफलहरु पनि चलिराख्छन्’, विधान अधिवेशनबाट संशोधन गर्नुपर्ने विषयमा पार्टीका नेताहरुको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै ज्ञवालीले भने, ‘छलफलका नाममा हामी पार्टी कामलाई अनन्तसम्म रोक्ने, पार्टी गत्यावरोधमा जाने स्थानीय चुनाव आउन लागिसक्यो, महाधिवेशन आउन लागिसक्यो यसबारे कुनै तयारी नहुने र सत्तापक्ष आक्रामक हुन थालिसक्यो, यस्तो बेलामा प्रमुख प्रतिपक्षलाई कुनै पनि गतिविधि गर्न नदिइकन हातखुट्टा बाँधेर बस भन्ने कुरा नेकपा एमालेको हितमा छैन। एमालेको हितमा नहुने कुरा स्वीकार्य हुँदैन।’
वरिष्ठ नेता माधव नेपाल पक्षको शुक्रबार सकिएको दुई दिने केन्द्रीय कमिटी बैठकले पार्टी एकताका लागि सदस्यता नवीकरण र विधान अधिवेशन रोक्न माग गर्ने निर्णय गरेको थियो। शुक्रबारको बैठकमा विधानमा संशोधन गर्नुपर्ने विषयमा बैठकमा छलफल भएको ज्ञवालीले बताए। उनका अनुसार बैठकमा पार्टी स्थायी कमिटी सदस्य, विधान संशोधन कार्यदल, संगठन विभागका सदस्यहरु, प्रदेश अध्यक्ष्यलगायत सहभागी थिए।

