नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ साउन ।

जनता समाजवादी पार्टी (जसपा)को नेता महन्थ ठाकुरले अहिले संघर्षमा रहेको बताएका छन्। उनले आफू मधेश र मधेशी जनताका लागि लड्दै आएकोमा अझै सोही मुद्दामा संघर्षशील रहेको बताए।
जसपाकै ब्यानरमा महोत्तरीको जलेश्वरमा शुक्रबार भएको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ठाकुरले भने, ‘अहिले त फैसला नै भएको छैन। जब अन्तिम नतिजा हुन्छ, अनि न हार जित हुन्छ। कोही एक कदम पछाडि पर्नेबित्तिकै लडाइँको नतिजा आउँदैन।’
ठाकुरले आफ्ना लागि मधेसको मुद्दा ठूलो कुरा भएको बताउँदै पद ठूलो नभएको दाबी गरे। उनले भने, ‘आयोगको निर्देशन प्रष्टै छ, दुबै पक्षले अलग हुन चाहेमा अलग हुनसक्छ। हामीले चाहेमा नयाँ पार्टी खोल्न सक्छौं।’
ठाकुरले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका एजेन्डा पूरा गरिदिने वचन दिएकाले सरकारमा सहभागी भएको प्रष्टीकरण दिए। नयाँ प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि उक्त विषयमा कुरा भएको उनको भनाइ छ।
‘हाम्रा माग मुद्दा सम्बोधन गर्न आग्रह गरेको छु। तर हामी सत्यमा अडिग भएका मान्छे हौं। हामी कुनै गलत माग राखेका छैनौं‚’ उनले भने‚ ‘संविधानमा धेरै त्रुटि छन्। मस्यौदा सार्वजनिक भएकै बेलादेखि हामीले विरोध गर्दै आएका छौं। हामी अहिले पनि सम्पूर्ण मधेशका लागि संघर्ष गरिरहेका छौं।’

