हाफ जिन्दगीको विमोचन

फुटकर लेख रचना लेख्दै आएका र नेपाल सरकारका लेखा अधिकृतसमेत रहेका दिनेश लम्सालको संस्मरणात्मक कृति ‘हाफ जिन्दगी’ हालै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विमोचन गरेका छन् । व्यङ्ग्यका क्षेत्रमा पोखरेली कान्छाको उपनामबाट समेत कलम चलाउँदै आएका लम्सालले आफ्नो बाल्यकाल, किशोरवय, युवा अवस्थाका भोगाइलाई हाफ जिन्दगीमार्फत साहित्यिक रङ दिएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको विमोचन कार्यक्रममा कृतिमाथि प्रकाश पार्दै समालोचक डा. हरि सिलवालले लेखकले कृतिमा आफ्नै जिन्दगीमाथि व्यङ्ग्य गरेका र यस्तो सत्य कुरा लेख्ने दुस्साहस जो कोहीले गर्न नसक्ने बताए । डा. सिलवालले बाल्यकालीन जिन्दगी रोइरहेको, आर्तनाद गरिरहेको र कष्टमय रहेको सन्दर्भलाई शब्दचित्रमा उतारिएको र शैक्षिक जीवनका उतारचढावहरू पठनीय र स्मरणीय रहेको पनि बताए ।



नेपाल निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष मोहन घिमिरे, पर्यटनविद् डा. प्रेम शर्मा, भाषाविद् डा. यज्ञश्वर निरौला, आधिकारिक कर्मचारी ट्रेड युनियनका कार्यबाहक अध्यक्ष भोला पोखरेल, साहित्यकार तथा प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सदस्य देवी नेपाल, प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत् उपाध्यायआदिले कृतिको बहुआयामिक पक्ष र सन्दर्भहरूका बारेमा प्रकाश पारेका थिए ।

प्रमुख अतिथिको आसनबाट बोल्दै प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले निजामती सेवा क्षेत्रका लाखौं कर्मचारीमध्येबाट केही कर्मचारीहरू पछिल्ला दिनमा साहित्य लेखनमा समेत सक्रिय रहेको पाउँदा गर्व लागेको बताएका थिए । लम्सालको कृति हाफ जिन्दगी बीएण्डबी पब्लिसर तथा डिष्ट्व्यिुटर्स प्रालिले बजारमा ल्याएको हो ।

 

सम्बन्धित समाचार