नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ साउन ।

गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित प्रवर्द्धन र कोभिडविरुद्ध सहकार्यबारे छलफल भएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ ।
भेटका क्रममा राजदूत यान्छीले नेपाल सरकार र लोकतन्त्रप्रति चिनियाँ सरकार सधैँ सकारात्मक रहेको अवगत गराएको जनाइएको छ । साथै यान्छीले कोभिडविरुद्धको लडाइँ र नेपाली नागरिकको जीवन रक्षाका लागि चीनले सकेको सहयोग गर्ने बताइन् ।
गृहमन्त्री खाणले कोभिडविरुद्धको खोप उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्दै नेपाललाई थप सहयोग आवश्यक रहेको औंल्याए । ‘हामीलाई अझै खोपको आवश्यकता छ । चीनले यसमा थप सहयोग गर्नेछ भन्ने विश्वास छ’, गृहमन्त्री खाणलाई उद्धृत गर्दै उनको सचिवालयले भन्यो ।
सोक्रममा राजदूत यान्छीले नेपाललाई आवश्यक पर्ने थप खोप उपलब्ध गराउन चिनियाँ सरकार सकारात्मक रहेको जानकारी दिइन् ।

