नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ साउन ।
पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी डानिश अजिजले एभरेष्ट प्रिमियर लिग (ईपीएल) को आउँदो सिजन चितवन टाइगर्सबाट खेल्ने भएका छन् । असोज ९ गते देखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा हुने ईपीएलका लागि अजिज चितवनले घोषणा गरेको पहिलो विदेशी खेलाडी हुन्।
स्टाइलिस युवा देव्रे हाते ब्याट्सम्यानले यसैवर्ष पाकिस्तानबाट क्रमश: दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध खेल्दै एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । २५ वर्षे अजिजलाई भारतका अलराउन्डर युवराज सिंहसँग पनि तुलना गरिने गरिन्छ । अजिजको स्ट्रोक प्ले, सन्तुलन र टेक्निक शैली उनका रोल मोडल युवराजको जस्तै रहेको छ। अजिजले युवराजलाई क्रिकेटमा आफ्नो प्रेरणाको रुपमा लिने गरेका छन्।
अजिजले नेसनल टी- २० कपमा असाधरण प्रर्दशन देखाएका थिए, विशेष गरी म्याच फिनिसिङमा उनले विशेष इनिङ्स खेलेका थिए । सिन्धबाट त्यो प्रतियोगितामा खेल्दै उनले ९ खेलमा २ सय २० रन बनाएका थिए, जसमा दुई अर्धशतक छन् । उनको औषत ७३.३३ र स्ट्राइक रेट १५४.९२ थियो।
आफूलाई अलराउन्डर साबित गर्ने क्रममा उनले १९ को औषतमा ५ विकेट लिएका थिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त ईपीएल २०२१ को आयोजना मितिलाई नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत गरिसकेको छ र नेपालको सबैभन्दा ठुलो खेलकुद इभेन्ट आयोजनाका लागि तयार छ।
‘नयाँ सिजनको ईपीएलका लागि डानिसलाई विदेशी खेलाडीको रुपमा भित्राउदा हामी उत्साहित रहेका छौं, पाकिस्तानको भविष्यको ब्याट्सम्यानको रुपमा उनलाई हेरिएको छ । उनको बिग हिटिङ र फिनिसिङ क्षमताले हाम्रो युवा ब्याटिङ लाइनअपलाई नयाँ आयाम दिने चितवन टाइगर्सकी अप्रेसन डाइरेक्टर विनिता चौधरीले बताइन्।’