नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ साउन ।

नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । ललितपुरको च्यासलस्थिल तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ ।
बैठकपछि पार्टी उपाध्यक्ष वामदेव गौतमले पत्रकारहरुलाई विधान संशोधन प्रस्थान केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको बताए । यसअघि नै बसेको स्थायी समिति बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय एमालेले गरिसकेको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले अध्यक्ष केपी शर्मा ओलीले राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्तावपनि पेश भएर त्यसलाई एक रुपमा दिइएको र सोही प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस गरेर छलफल खुला गरिने बताए ।
बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी भएपनि वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष को भने सहभागिता रहेको थिएन । त्यस्तै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको विधान संशोधन,विधान अधिवेशनको तयारी,पार्टी एकता लगायत विषयमा छलफल हुने बताइएको छ ।
एमालेमा एकताको प्रयास भन्दै हिजो बोलाइएको केन्द्रीय कमिटी बैठक आजका लागि सारेको हो । नेपाल पक्षसँग सहमति गर्ने प्रयास स्वरुप आइतबारको बैठक सारिएको एमाले संस्थापनको भनाइ छ। आइतबार ओली र नेपाल पक्षका विघटित कार्यदलका नेताहरुबीच छलफल भएको थियो। अनौपचारिक छलफलबाट के कस्तो निष्कर्ष आयो वा के विषयमा छलफल भयो भन्ने कुरा बाहिर आएको छैन।

