नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ साउन ।
अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिज घरेलु टिम बंगलादेशले जितेको छ । सोमबार भएको अन्तिम तथा पाँचौ टी-ट्वान्टीमा अष्ट्रेलियालाई ६० रनले पराजित गर्दै बंगलादेशले सिरिज ४-१ ले आफ्नो पक्षमा पारेको हो ।
ढाकाको शेर बंगला नेसनल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १२२ रन बनाएको थियो । उसको लागि मोहमद नाइमले २३ रन बनाए भने कप्तान महमुद उल्लाहले १९ रन जोडे । त्यस्तै सौम्य सरकारले १६ रन बनाउँदा महेदी हसनले १३ र शकिब अल हसनले ११ रन बनाए । अष्ट्रेलियाका लागि डान क्रिस्टियन र नाथन एलिसले समान २-२ विकेट लिए ।
१२३ रनको लक्ष्य लिएर मैदान उत्रेको अष्ट्रेलिया १३.४ ओभरमा ६२ रनमा अलआउट भयो । अष्ट्रेलियाका लागि कप्तान म्याथ्यु वेडले २२ र बेन म्याकडेरमोटले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।बंगलादेशको लागि शकिब अल हसनले ४ विकेट लिए भने मोहमद सैफुदीनले ३ र नासुन अहमेदको भागमा २ विकेट रह्यो ।
खेलको म्यान अफ दि म्याच र प्लेयर अफ दि सिरिज शकिब अल हसन भए । अष्ट्रेलियाविरुद्धको पाँचौं तथा अन्तिम टी-ट्वान्टी खेलबाट शकिब अल हसनले १०० विकेट पूरा गरेका छन् । गए राति ४ विकेट लिएसँगै अष्ट्रेलियाविरुद्धको पाँचौं तथा अन्तिम टी-ट्वान्टी क्रिकेटबाट हसनले १०० विकेट पूरा गरेका हुन् ।