नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ साउन ।

नेकपा (एमाले) का अध्यक्ष तथा प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आफ्नो दलका केहि मान्छेलाई मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले नेपाल पक्षका सांसदहरुलाई व्यंग्य गर्दै मन्त्री बनाउन देउवासँग आग्रह गरेका हुन् ।
ओलीले भने ‘सम्माननीय प्रधानमन्त्रीज्यू मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर तपाईँका पछि कुदेका छन् । सम्माननीय प्रधानमन्त्रीज्यू तिनीहरूलाई मन्त्री दिनुस् न ! किन विलम्ब गर्नुभएको ?’, ‘हिरिक्क हिरिक्क भएका छन् विचराहरू मन्त्री खानका लागि प्लिज !’
ओलीले पार्टीमा घाटा भएपनि सहुँला भन्दै माधव नेपाल पक्षलाई मन्त्री दिन हात जोडेर बिन्ती गर्दै देउवासँग आग्रह गरे । उनले भने, ‘यति त गराइ सक्नुभयो । पछि पछि कुद्या छन् । हिँड्या छन् । फ्याँफ्याँ, स्वाँस्वाँस्वाँ गरेका छन् । मन्त्री खान पाउँ भनेका छन् । बिहान बेलुकै हाजिर गरेका छन् । चाकरी गरेका छन् । मन्त्री दिनुस् न प्लिज । मेरा दलमा अलिकति घाटा भए पनि सहुला बुझौला ।’

