नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ साउन ।

लुम्बिनी सरकारको नेतृत्वका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आलोपालो गर्ने सहमति गरेका छन् । अब १६ महिना कार्यकाल बाँकी रहेका उनीहरूले ८र८ महिना नेतृत्व गर्ने सहमति गरेका हुन् । मुख्यमन्त्रीले राजीनामा दिएपछि बहुमतमा रहेका गठबन्धनको सरकार बन्ने पक्का भएकाले कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो गरी सत्ता सञ्चालन गर्ने सहमति भएको माओवादीका सांसद सुर्दशन बरालले बताए ।
बरालका अनुसार शुरूको ८ महिना माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी र बाँकी समय नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सरकारको नेतृत्व गर्नेछन् । यो विषयमा भद्र सहमति भएको बरालले बताए ।
मंगलबार बसेको गठबन्धनको बैठकले यस्तो आन्तरिक सहमति गरेको कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बताए । माओवादी र कांग्रेसले गण्डकी र लुम्बिनीको मुख्यमन्त्री बाँडे पनि लुम्बिनीमा शक्ति सन्तुलन मिलाउन यस्तो गरिएको कांग्रेस नेताहरूको भनाइ छ ।

