नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ साउन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणहिटी दरबार संग्रहालय अवलोकन गरेकी छिन् । २०६५ फागुन १५ गने सर्वसाधारणका लागि खुला गरिएको यस संग्रहालयको राष्ट्राध्यक्षले अवलोकन भ्रमण गरेको पहिलोपटक हो ।
कडा सुरक्षा घेराबीच संग्रहालय पुग्नुभएकी राष्ट्रपति भण्डारीले संग्रहालयको मुलद्वारबाट प्रवेश गरी सबै कोठाहरूको अवलोकन गरिन् । त्यसक्रमा उनले पूर्व राजाहरूको श्रीपेचदेखि राजदरबार हत्याकाण्ड भएको मुख्य स्थल त्रिभुवन सदनको पनि अवलोकन गरिन् । सर्वसाधारणका लागि अहिलेसम्म त्रिभुवन सदन खोलिएको छैन ।
त्रिभुवन सदनपछि उनी फोहोरा दरबारसँगै राजा वीरेन्द्रको निजी निवास पुगिन् । राष्ट्रपति भण्डारीले संग्रहालयभित्र रहेको सिनेमा हलमा प्रवेश गरी संग्रहालयसम्बन्धी स्लाइड शो पनि अवलोकन गरिन् । उनले संग्रहालयको निकै रुचिपूर्वक भ्रमण गरेको नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए।
राजा ज्ञानेन्द्रको बहिर्गमनसँगै राष्ट्राध्यक्षले नारायणहिटी संग्रहालयको अवलोकन गरेको यो पहिलोपटक हो । यसअघि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि नारायणहिटी दरबार संग्राहालयको भ्रमण गरेका थिए ।

