नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० साउन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कासँग भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा प्रधानमन्त्री देउवाले क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।
देउवाले सामाजिक सञ्जालमार्फत् दुई दशमा नेपाली क्रिकेटले हासिल गरेका हरेक सफलता नेपालीले कहिल्यै नभुल्ने भन्दै ती रोमाञ्चक जीत र क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा खड्कालाई धन्यवाद दिएका छन्।
‘नेपाल र नेपालीको शीर उचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्,’ उनले लेखेका छन्, ‘सरकारको साथ र सहयोग सधैं रहनेछ।’ यता, खड्काले क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएकोमा प्रधानमन्त्री देउवालाई धन्यवाद दिएका छन्।
गत वर्ष राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिएका खड्काले अघिल्लो हप्ता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्।उनले लाइन मिले आफू राजनीतिमा पनि आउन सक्ने बताएका छन्। तर, आफ्नो प्राथमिकता भने क्रिकेट नै भएको उनको भनाइ छ।