माओवादी केन्द्रद्वारा उपमहासचिव पद हटाएर कोषाध्यक्ष थप्ने निर्णय

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रस्तावित विधानमा उल्लेख गरिएको उपमहासचिव पद हटाएर कोषाध्यक्ष पद थप्ने निर्णय गरेको छ । आज (आइतबार) पार्टी कार्यालय पेरिसडाँडामा भएको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा प्रश्नको जवाफ दिँदै नेता देव गुरुङले भने,‘उपमहासचिव पद हट्छ, कोषाध्यक्ष पद थप गरिनेछ ।’ यस अघि शनिबारको बैठकमा प्रस्तुत गरिएको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद रहने प्रावधान थियो ।अब माओवादीका केन्द्रीय पदाधिकारीहरूमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहनेछन् भने प्रदेश र तल्ला कमिटीहरूमा भने अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष हुनेछन् ।



त्यस्तै स्थायी समिति बैठकले केन्द्रीय कमिटीको बैठक आजै सक्ने निर्णय गरेको छ । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भएको बताए । श्रेष्ठले केन्द्रीय समिति बैठकमा समूहगत छलफलबाट आएका रिपोर्टहरुलाई भोलि(सोमबार) बस्ने स्थायी समितिको बैठकले व्याख्या र निष्कर्ष निकाल्ने जानकारी दिए ।

 

 

 

सम्बन्धित समाचार