तालिवान आक्रमणपछि ८० भन्दा बढी अफगान सिपाहीहरू उज्वेकिस्तानमा

तालिवान समूहले अफगानिस्तानका २४ राज्यलाई आफ्नो नियन्त्रणमा लिएको बताइरहँदा अफगानिस्तानको सीमा क्षेत्रमा तैनाथ ८४ अफगान सैनिकले अफगान–उज्वेकिस्तान सीमा पार गरी स्थानीय प्रशासनसमक्ष सहयोग मागेका उज्वेकिस्तानको विदेश मन्त्रालयले आइतबार जानकारी गराएको छ ।

अगस्त १४ मा ८४ जना अफगान सरकारी सैनिकको एउटा समूहले सीमा पार गरेको र उनीहरूलाई राज्य सुरक्षा सेवाका सीमा फौजका एकाइहरूद्वारा पक्राउ गरिएको बताइएको छ । सीमा उल्लङ्घन गरी उज्वेकिस्तान पुगेका अफगान सैनिकलाई पक्राउ गर्दा उनीहरूबाट कुनै प्रतिरोध नभएको मन्त्रालयले बताएको छ । उनीहरूमध्ये तीन सिपाही घाइते रहेका र उनीहरूलाई उपचारको व्यवस्था गरिएको रुसी सञ्चार संस्था स्पुत्निकले मन्त्रालयका अधिकारीलाई उद्धृत गरी समाचार लेखेको छ ।



सिपाहीहरूलाई उज्वेकिस्तान सरकारद्वारा चिकित्सा सहायता, खाना र अस्थायी आश्रय दिएको बताइएको छ । रुसी समाचार संस्थाका अनुसार अफगानिस्तानको उत्तरमा रहेको एक मात्र प्रान्त बल्खको राजधानी बल्ख तालिबानको नियन्त्रणमा आएपछि देशको सम्पूर्ण उत्तरी क्षेत्र लडाकुहरूको नियन्त्रणमा आएको छ ।

तालिबानले अफगानिस्तानको चौथो ठूलो शहर ‘मजार–आई–शरिफ’लाई आफ्नो नियन्त्रणमा लिएपछि उत्तरमा सरकारको नियन्त्रण गुमेको हो । खामा प्रेसका अनुसार मार्शल अब्दुल राशिद डोस्टम र प्रमुख ‘जिहाद नेता’ अट्टा मुहम्मद नूरको प्रभाव क्षेत्र रहेको ‘मजार–आई–शरिफ’ आफ्ना लडाकु र छोराहरूसँगै उज्वेकिस्तान भागेपछि उक्त क्षेत्रमा सरकार कमजोर भएको मानिएको थियो । अट्टा नूरले ‘मजार–ए–शरीफ’मा सैनिक पतन एउटा षड्यन्त्र भएको र यसको उद्देश्य आफैलाई पक्राउ गरी आफू र मार्शल डोस्टमलाई आत्मसमर्पण गराउनु रहेको दाबी उज्वेकिस्तानबाट गरेका छन् ।

यसैबीच तालिवानले प्रान्तीय कार्यालय, प्रहरी मुख्यालय राष्ट्रिय सुरक्षा निर्देशनालय (एनडिएस) स्थानीय कार्यालय र २०९ औँ शाहीन चिहान क्षेत्र आफ्नो लडाकुको कब्जामा आएको दाबी गरेको छ ।

विदेशी सेनाको पूर्ण फिर्ता भएको केही हप्ताभित्रै तालिबानले अफगान सेना र नागरिकहरू विरुद्ध आफ्नो आक्रामक हमलालाई तीव्र बनाउँदा अफगानिस्तानमा हिंसाग्रस्त अवस्था देखिरहेको छ । तालिबान समूह अहिले देशको केन्द्रीय राजधानी काबुल नजिकै पुगिसकेको छ ।

सम्बन्धित समाचार