अफगानिस्तानमा विदेशी नागरिकलाई खतरा छैन:तालिबान प्रवक्ता

अफगानिस्तान तालिबान विद्रोही समूहको नियन्त्रण नजिक पुगेको छ । तालिबान लडाकु ३४ वटा सबै प्रान्तीय राजधानी नियन्त्रणमा लिएर केन्द्रीय राजधानी काबुलमा प्रवेश गरिसकेकाले अफगानिस्तान तालिबानको नियन्त्रण नजिक पुगेको बीबीसीले जनाएको छ । तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्किन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

तालिबान लडाकु काबुल प्रवेश गरेपछि अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले तालिबान प्रतिनिधिसँग भेट गर्नुभएको छ । भेटमा घानीले आफू शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणका लागि तयार रहेको बताएको अन्तरिम गृह मन्त्री अब्दुल सत्तार मिर्जाकवाललाई उदृत गर्दै बीबीसीले जनाएको छ ।



सत्ता हातमा लिने अन्तिम तयारीमा रहेको बेला तालिबानले महिलाको अधिकारलाई सम्मान गर्ने जनाएको छ । तालिबान प्रवक्ता सुहाइल साहिनले बीबीसीसँग कुरा गर्दै महिलाको अधिकारको सम्मान गर्ने बताएको हो । तालिबानले सरिया कानुन लागू गर्ने र यसले महिलाका मानव अधिकारहरू कुण्ठित हुने भन्दै विश्वव्यापी रूपमा चिन्ता व्यक्त भइरहेका बेला तालिबानले यस्तो बताएको हो ।

प्रवक्ता साहिनले विदेशी कुटनीतिक नियोगहरूलाई पनि कुनै खतरा नहुने भन्दै ढुक्क भएर आफ्नो काम गर्न आग्रह गरे । उनले आफ्नो देश फर्कन चाहनेहरूलाई सहज रूपमा फर्कन दिने पनि बताए ।

तालिबानले यसअघि सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा सत्ता सम्हालेको थियो । तर २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्विन टावरमा आक्रमण भएपछि अमेरिकी सेनाले सत्ताबाट हटाइदिएको हो । अमेरिकी र नेटो सेना झन्डै २० वर्ष अफगानिस्तानमा बसे पनि तालिबानलाई नियन्त्रण गर्न सकेनन् ।

विदेशी सेना रहुन्जेल ग्रामीण इलाकामा खुम्चिएको तालिबान अहिले विदेशी सेना फर्किएको केही समयमै प्रान्तीय राजधानी हुँदै केन्द्रीय राजधानीसम्म नै आइपुगेर सत्ता नियन्त्रण गर्ने अन्तिम तयारीमा पुगेको हो ।

सम्बन्धित समाचार