नवकान्तिपुर संवाददाता
काठमाडौं, ३२ साउन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो सुरक्षामा कटौती गरेका छन् । उनले स्कटिङमा खट्दै आएका आधा सुरक्षाकर्मी घटाएका छन् । केसीले सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई फिर्ता पठाएका हुन् । प्रहरी नायब निरीक्षकको कमाण्डमा रहेको सात जनाको प्रहरी टोलीलाई केसीको निर्देशनमा फिर्ता पठाइएको हो ।
मुख्यमन्त्री कार्यालयका अनुसार यसअघि निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले स्कटिङमा १४ जना सुरक्षाकर्मी प्रयोग गर्दै आएका थिए । खटिएका सुरक्षाकर्मीमध्ये नेपाल प्रहरीको सात जनाको ‘अगुवा’ र सोही संख्यामा सशस्त्र प्रहरीका ‘पछुवा’ थिए । ती सुरक्षाकर्मीहरु मुख्यमन्त्री केसीले पदभार ग्रहण गरेसँगै हटाएका हुन् ।
मुख्यमन्त्री केसीले जननिर्वाचित प्रतिनिधि जनतामा जाँदा असुरक्षाको महसुस गर्नुपर्ने अवस्था नरहेको बताए । उच्चपदस्थको सुरक्षाको नाममा अनावश्यक जनशक्ति खटाउँदा जनसुरक्षामा असर पर्ने उनको भनाइ छ । अहिले प्रदेश सरकारले सुरक्षाकर्मी परिचालनमा नयाँ कार्ययोजना बनाउने तयारी गरिरहेको छ ।

