नवकान्तिपुर संवाददाता
काठमाडौं, ३२ साउन ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनको राजीनामा मागेका छन् ।
अफगानिस्तानबाट असरफ घानी नेतृत्वको सरकार परास्त हुनुमा बाइडेन प्रशासन जिम्मेवार रहेको भन्दै उनले बाइडेनको राजीनामा मागेका हुन् । अफगानिस्तानमा शान्तिपूर्ण र सफलतापूर्वक घानी सरकारलाई टिकाइराख्न र तालिबान लडाकुहरूलाई पराजित गर्न बाइडेन प्रशासन असफल भएको ट्रम्पको भनाइ छ ।
आइतबार जारी गरेको वक्तव्यमा ट्रम्पले लेखेका छन्, ‘अफगानिस्तानमा देखिएको असफलताका कारण अव बाइडेनले राजीनामा दिनुपर्ने बेला आएको छ ।’ अफगानिस्तानमा अहिले जे भइरहेको छ, त्यो सबैको दोषी बाइडेन प्रशासन नै भएको ट्रम्पको आरोप छ । आफू यो कार्यकालका लागि पनि राष्ट्रपतिमा निर्वाचित भएको भए अफगानिस्तानमा यस्तो अवस्था नआउने आशय पनि उनले व्यक्त गरेका छन् ।
अफगानिस्तानका राष्ट्रपति घानीले देश छोडेको र तालिबान लडाकुहरूले सत्ता कब्जा गरेको थाहा पाउनासाथ ट्रम्पले यस्तो वक्तव्य जारी गरेका हुन् । तालिबान विद्रोहीहरू देशको केन्द्रीय राजधानी काबुल प्रवेश गरेपछि उनले देश छाडेका हुन् । देश छाडेपछि उनले थप रक्तपात हुन नदिन र अरू लाखौँको मृत्यु हुने घटनाबाट जोगाउनका लागि आफूले शान्तिपूर्ण तरिकाले देश छोडेको स्पष्ट पारेका छन् ।
स्रोतका अनुसार अब तालिबान लडाकूहरुकोतर्फबाट अलि अहमद जलाली देशको अन्तरिम राष्ट्रपति बन्नेछन् । तालिबान लडाकुहरूले १० दिनको अवधिमा अफगानिस्तानका प्रमुख शहरहरू नियन्त्रणमा लिएका छन् । उनीहरूले नयाँ सरकार गठनका लागि आन्तरिक गृहकार्य गरिरहेको जनाइएको छ ।