नवकान्तिपुर संवाददाता
काठमाडौं, ३२ साउन ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी अधिकृतमा ‘थमौती गरिपाउँ’ भन्दै हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन् । शाक्यले प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर रिट निवेदन दर्ता गरेका छन् ।
शाक्यले आफूलाई हटाएको जानकारीसमेत नदिई कुलमान घिसिङलाई नियुक्ति गर्नु असंवैधानिक भएको भन्दै रिट दर्ताका लागि पेश गरेको सर्वोच्चले स्रोतले जनाएको छ। शाक्यले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न अन्तरिम आदेशको माग गरेका छन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । त्यस्तै मन्त्रिपरिषद् बैठकले नै प्राधिकरणका कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा कार्यादेशसहित विशिष्ठ श्रेणीको पूर्णकालीन सदस्यका रुपमा ४ वर्षका लागि नियुक्त गरिएको थियो ।
शाक्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिती र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएका छन् ।

