नवकान्तिपुर संवाददाता
काठमाडौं, ३२ साउन ।
आफगानिस्तानभर आफ्नो पकड जमाएको तालिवानले काबुलको एक होटलमा बसिरहेका नेपाली सुरक्षा गार्डसहित विदेशी कामदाररकर्मचारीहरुलाई छाड्न आदेश दिएको छ । होटलमा झन्डै एक सय ५० जना नेपाली सुरक्षागार्ड छन् ।
तालिवानले उनीहरुलाई हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलमै गएर बस्न निर्देशन दिएका छन् । जर्मन, क्यानेडियन, विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संस्थाहरुमा कार्यरत नेपालीसहित विदेशी बसिरहेको होटलमै पुगेर तालिवानले तत्काल होटल छोड्न निर्देशन दिइएको हो ।
‘हामीलाई तुरुन्तै होटल छोड्नुपर्ने तालिवानको आदेश छ । उनीहरु होटलमा छन्’, एक नेपाली सुरक्षा गार्डले भने,‘हामी विमानस्थल जान सबै साथीहरु होटल बाहिर निस्किएका छौं । अब यहाँबाट विमानस्थल जाने तरखरमा छौं ।’
तालिवानले विमानस्थल जान समस्या नभएको जानकारी दिएको उनले बताए । होटलबाट विमानस्थल दुई किलोमिटर मात्रै टाढा छ । उनीहरु आइतबार बिहान काबुलस्थित दूतावासको परिसरबाट होटल आएर बसेका थिए । अमेरिकी सेनाले विमानस्थलबाट दोहातर्फ उद्धार गरेर लगिरहेको छ । सोमबार व्यवसायिक उडानहरु भने बन्द छन् । सैन्य विमान मात्रै सञ्चालनमा छन् ।