
सरकारले एमालेलाई फुटाउने योजना सहित दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि राजनीतिक वृत्तमा तरंग आएको छ । संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत चाहिने प्रावधान हटाएर दुईमध्ये एकमा २५ देखि ३० प्रतिशत भए पुग्ने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारीमा सरकार लागेपछि एमालेमा हलचल भएको छ । एमाले विभाजनपछि मात्र प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको स्रोतको दाबी छ ।
अध्यादेश ल्याउने थाहा पाएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरुलाई बालकोटमा बोलाएर बैठक गरेका थिए। पदाधिकारी, स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटी सदस्यहरूसँगको बैठकपछि ओलीले सोमबार राति नै दुई पृष्ठ लामो पाँच बुँदे विज्ञप्ति निकालेका छन्।
उनले एमाले विभाजित गरेर कम्युनिष्ट आन्दोलन नै समाप्त गर्ने गम्भीर षड्यन्त्र भइरहेको पनि दाबी गरेका छन्। ‘एमाले विभाजित गर्ने र कम्युनिष्ट आन्दोलन नै समाप्त गर्ने गम्भीर षड्यन्त्र भइरहेको छ’, सोमबार राति निकालेको वक्तव्यमा ओलीले भनेका छन्।
उनले संसदको चालु अधिवेशन पूर्व घोषित प्रतिवद्धता विपरीत सरकारले हठात अन्त्य गरेर एमाले फुटाउने योजनामा अघि बढेको पनि बताएका छन्। ‘पूर्व घोषित प्रतिवद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र नेकपा एमालेलाई विभाजित गर्ने षड्यन्त्र भइरहेको छ’, उनले भनेका छन्।

उनले एमाले र संसदीय दलमा विभाजन ल्याउने षड्यन्त्र मान्य नहुने पनि बताएका छन्। ‘नेकपा एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुने छैन’, उनले भनेका छन्, ‘तसर्थ पार्टीका सम्पूर्ण नेता कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरुविरुद्ध दृढताका साथ उभिन अपिल गर्छु।’
यसैबीच एमालेले मंगलबार स्थायी कमिटी र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ। संसद् अधिवेशन अन्त्य गरिएपछि विकसित राजनीतिक परिस्थितिका कारण एमालेले दुवै बैठक बोलाएको हो।



