नवकान्तिपुर संवाददाता
काठमाडौं, १ भदाै ।

नेकपा एमालेभित्रको लामो समयदेखि जारी विवादले विभाजनको रूप लिने भएको छ । सरकारले दल फुटाउन सहज हुनेगरी अध्यादेश ल्याउने भएपछि माधव नेपाल समूह नयाँ पार्टी गठनको गृहकार्यमा जुटेको छ । नयाँ पार्टीमा हाल दोधारमा देखिएमा एमाले उपाध्यक्ष वामदेव गौतमदेखि ओलीनिकट मानिएका केही नेता र सांसद् पनि अटाउने भएका छन् । अध्यादेश ल्याउनुमा सत्ता गठबन्धनले राष्ट्रपतिलाई महाअभियोग लगाउनेसम्मको लक्ष्य राखेको स्रोतको भनाइ रहेको छ ।
नयाँ दल दर्ताको लागि माधव नेपाललाई झलनाथ खनालले फोनवाटै सघाइरहेका छन् भने वावदेव गौतमले प्रत्यक्ष साथ दिएका छन् । नेता नेपालकै नेतृत्व रहने पार्टीमा गौतम उपाध्यक्ष या वरिष्ठ नेता बन्न तयार रहेको बताइन्छ । गठन हुने नयाँ पार्टीको दस्तावेज लेखनको काम भने नेता घनश्याम भुसालले गरिरहेका छन् । भुसाल नयाँ बन्ने पार्टीको महासचिव रहने चर्चा छ ।
नेपाल समूहमा ३३ जना सांसदहरू रहे पनि देउवालाई समर्थन जनाउने बेलासम्म २२ जनाले नेपाललाई साथ दिइरहेका थिए । तटस्थ रहेका सांसदहरुले पनि नयाँ पार्टी गठन भएपछि आफूलाई साथ दिने नेपालको बुझाइ रहेको छ । त्यसैगरी नेपाल पक्षले आफूसँग ९० जना केन्द्रीय सदस्य रहेको दाबी गर्दै आएको छ । यो संख्या पनि केही बढ्न सक्ने उसको आँकलन रहेको छ ।
सत्ता गठबन्धनको लक्ष्य– राष्ट्रपतिलाई महाअभियोगसम्म
अध्यादेश ल्याउने गृहकार्य स्वरुप प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नेपालले आइतवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका थिए । उक्त भेटमा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनेमात्र नभएर राष्ट्रपति विद्या भण्डारीविरुद्ध महअभियोग लगाउन पुग्ने शक्ति जुटाउने बारे पनि छलफल भएको बुझिन्छ । त्यसैले सत्ता गठबन्धनले राजपाको महन्थ ठाकुर पक्षलाई पनि पार्टी विभाजन गर्न पुग्ने गरी अध्यादेश ल्याउने र गठबन्धनमै सहभागि गराउने तयारी गरेको छ ।
राजपाको आधिकारिकता पाएका उपेन्द्र यादव पनि महन्थलाई नयाँ पार्टी गठनको वातावरण बनाउने विषयमा सकारात्मक देखिएपछि प्रधानमन्त्री देउवाले अध्यादेशको तयारी थालेका हुन् । त्यसका लागि देउवाले संसद्को जारी अधिवेशन अन्य गरेर प्रक्रियाको शुरुवात गरिसकेका छन् ।
ओली खेमामा भूकम्प
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएपछि ओली खेमामा भने तरंग फैलिएको छ । जारी संसद् अधिवेशन अन्त्य गरिएसँगै ओली आफूनिकट नेताहरुसँग परामर्शमा जुटेका छन् । हिजो राति नै एक वित्रप्ति जारी गरेर ओलीले एमाले फुटाउने मनासायले अध्यादेश आएमा स्वीकार्य नहुने भन्दै एक विज्ञप्ति जारी गरेका थिए । सरकारले अध्यादेशको तयारी गरेपछि अन्दोलनमा उत्रिन उनले युवा संघलाई निर्देशन दिइसकेको बताइन्छ । तर यसअघि आफै प्रधानमन्त्री हुँदा दल विभाजनसहित विभिन्न खालका अध्यादेश पटक पटक ल्याएकोले ओलीले अध्यादेशको विरोध गर्दा उनीखोमाका नेता कार्यकर्ताबाहेकको सामर्थन पाउने भने देखिँदैन ।
सत्ता गठबन्धनले एमाले फुटाउने मात्र नभएर राष्ट्रपतिलाई महाअभियोगसम्मको तयारी गरेको सुइको पाएपछि ओलीको तनाब झन बढेको छ । साथै आफूनिकटका नेही नेताहरू पनि माधव नेपालले गठन गर्ने पार्टीमा प्रवेश गर्ने तयारी गरेको सुइको पाएपछि ओलीले आज स्थायी कमिर्टी र संसदीय दलको बैठक बोलाएका छन् । उक्त बैठकमार्फत थप नयाँ रणनीति तय गर्ने ओलीको तयारी रहेको बुझिएको छ ।।

