नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ भदाै ।

पार्टीबाट कोही बाहिरिँदैमा एमाले समाप्त पार्ने योजना सफल नहुने नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बताएका छन्।पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले नयाँ पार्टी दर्ता गरेसँगै उनले सामाजिक सञ्जालमार्फत एमालेमा आएको विभाजनलाई ‘अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम’ भनी टिप्पणी गरेका छन्।
लामो इतिहास बोकेको पार्टी एक बनाउन गरिएका सबै प्रयास केही सीमित व्यक्तिका कारण सफल हुन नसकेको उनको भनाइ छ। ‘पार्टीलाई एक ढिक्का बनाउन यस बीचमा बनाइएका समझदारी र प्रस्तुत गरिएको लचकतालाई समेत कुल्चेर अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम गरिएको छ,’ उनले लेखेका छन्।
पार्टी विभाजनको कामलाई उनले घृणित र निन्दनीय काम भएको बताएका छन्। एमाले मुलुकमा आर्थिक विकास र सम्वृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, समाजमा अराकताको अन्त्य आदि उद्देश्य बोकेर अघि बढिरहेको पार्टी भएको बताउँदै उनले अहिलेको अवस्थामा धैर्य नगुमाउन सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकलाई अपिलसमेत गरेका छन्।

