नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ भदौ ।

लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ । आज (बिहीबार) दिउँसो १ बजे बस्ने भनिएको बैठक भदौ ७ गतेसम्मको लागि स्थगित भएको हो ।
प्रदेश सभा सचिवालयले भदौ ७ गतेसम्मको लागि स्थगित गरिएको जनाएको छ । प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखको निर्देशन अनुसार २०७८ साल भदौ ७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी तय भएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले बताए ।
यसअघि नवौं अधिवेशनको पहिलो र दोश्रो दिन विपक्षी दल एमालेले लगातार प्रदेश सभा बैठक अवरुद्ध गरेको थियो । प्रदेश सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गर्दै आएको छ । आज बस्ने भनिएको तेस्रो बैठक विशेष कारणबस स्थगित गरिएको सूचनामा उल्लेख छ ।

