
सरकारले बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ। विहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। शर्मा नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधव कुमार नेपालनिकट हुन्। शर्मा लामो समय नेता नेपालको स्वकीय सचिव रहेर काम गरेका थिए।
नेपालले नयाँ पार्टी दर्ता गर्न बुधबार आयोगमा निवेदन दिएका थिए। उक्त पार्टी दर्ता भने भइसकेको छैन। अध्यादेश आएपछि एमाले विभाजनको प्रक्रिया सुरू भएसँगै नेपाल समूहका व्यक्तिलाई सरकारले राजनीतिक नियुक्तिमा स्थान दिएको हो। यसअघि गण्डकी, लुम्बिनी र प्रदेश नम्बर २ मा नयाँ प्रदेश प्रमुख नियुक्त गर्दा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भागबन्डा गरेका थिए।
यस्तै सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले शर्मालाई सेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। शर्मा अहिले कायममुकायम प्रधानसेनापति छन्।
शर्मालाई महारथी दर्जामा पदोन्नति गरेर प्रधानसेनापति नियुक्त गर्न सिफारिस गरिएको एक मन्त्रीले जानकारी दि। प्रधानसेनापति पूर्णचन्द्र थापाले भदौ २५ गते अवकाश पाएपछि शर्माले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन्। थापा बिदामा बसेका छन्।

